बुढानीलकण्ठ नगर अस्पतालमा बर्थिङ सेवा सन्चालनमा आयो

बुढानीलकण्ठ नगर अस्पतालमा बर्थिङ सेवा सन्चालनमा आयो

कपन अनलाइन

काठमाडौं ,मंसिर १७ ।

बुढ़ानीलकण्ठ नगरपालिका– हात्तिगोडा स्थित नगर कार्यपालिकाको कार्यालयले नगरवासीका लागि सुखद खबर सार्वजनिक गरेको छ। बुढानीलकण्ठ नगर अस्पताल सन्चालन समितिको मिति २०८२ मंसिर २ गतेको निर्णयअनुसार अस्पतालको सेवा क्षेत्र विस्तार गर्दै मंसिर ९ गतेदेखि औपचारिक रूपमा बर्थिङ (प्रसूति) सेवा सन्चालनमा ल्याइएको जानकारी नगरपालिकाले दिएको छ।

नगरवासीलाई नजिकैबाट गुणस्तरीय प्रसूति सेवा प्रदान गर्ने उद्देश्यसहित सुरु गरिएको यस सेवाले विशेषगरी गर्भवती महिलाहरूलाई अत्यावश्यक स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

बर्थिङ सेवा सन्चालनसँगै अब नगरभित्र नै सुरक्षित प्रसूति सेवा प्राप्त गर्न सकिने भएकाले नागरिकहरूलाई समय बचत हुने तथा स्वास्थ्य जोखिम न्यूनिकरणमा मद्दत पुग्ने अस्पतालले जनाएको छ। नगरपालिकाले बर्थिङ सेवा विस्तारसम्बन्धी जानकारी नगरवासी तथा सरोकारवाला पक्षहरूलाई व्यापक रूपमा प्रवाह गरिदिन अनुरोध गर्दै यो पहलले नगरको मातृ–शिशु स्वास्थ्य स्तर उकास्न महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेको छ।

तपाइँको प्रतिक्रिया ।