रिलायन्स साहित्य समाजको आयोजनामा १६ औ देवकोटा स्मृति राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता हुँदै
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २१ ।
रिलायन्स एजुकेसन नेटवर्क अन्तर्गत स्थापित रिलायन्स साहित्य समाज, बुढानीलकण्ठ–१०, कपनले १६ औ देवकोटा स्मृति राष्ट्रव्यापी अन्तर माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ।
२०६६ सालमा स्थापना भएको यस समाजले देशभरका माध्यमिक तहका विद्यार्थीहरूबीच वक्तृत्वकला विकास, साहित्यिक चेतना प्रवर्द्धन र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सृजनाबाट प्रेरणा लिनका लागि यो राष्ट्रिय प्रतियोगिता गर्दै आएको हो।
यस वर्षको वक्तृत्वकला प्रतियोगिताको विषय ‘महाकवि देवकोटाको वन कविताबाट आजका मानिसहरूले लिनुपर्ने प्रेरणा’ निर्धारण गरिएको छ। प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका एकजना मात्र विद्यार्थीले आफ्नो विद्यालयको तर्फबाट भाग लिन पाउनेछन्।
प्रतियोगिताका नियमअनुसार प्रत्येक वक्तालाई ५ मिनेटको समय दिइनेछ। चार मिनेटपछि एक पटक जनाउ घण्टी बजाइनेछ र पाँच मिनेट पुग्दा लगातार तीन घण्टी बजाएर समय समाप्त भएको सूचना दिइनेछ। सोपछि प्रस्तुत गरिने भनाइ मूल्याङ्कनमा नलिइने आयोजकले जनाएको छ।
निर्णायक मण्डलमा स्वतन्त्र भाषाविद् वा अध्यापकहरू समावेश हुनेछन् र तीन सदस्यीय निर्णायक समितिको निर्णय अन्तिम हुनेछ। निष्पक्ष मूल्याङ्कनका लागि रिलायन्स नेटवर्कका विद्यालयहरू प्रतियोगीका रूपमा सहभागी नहुने जनाइएको छ।
दुई चरणमा प्रतिस्पर्धा, उत्कृष्ट ५ वक्ता अन्तिम राउण्डमा
प्रतियोगिता दुई चरणमा सम्पन्न हुनेछ। पहिलो चरणमा मङ्सिर ११ गते बिहीबार प्रतिस्पर्धा हुनेछ, जसबाट उत्कृष्ट पाँच वक्ताहरू छनोट गरिनेछन्। ती पाँच वक्ताले मङ्सिर १२ गते शुक्रबार हुने बृहत् कवि गोष्ठी तथा स्रष्टा सम्मान समारोहमा विशिष्ट अतिथिहरूको उपस्थितिमा अन्तिम प्रतिस्पर्धा गर्नेछन्।
आकर्षक पुरस्कार र सम्मान
प्रतियोगिताका विजेताहरूलाई एक भव्य समारोहबीच सम्मान गरिनेछ।
प्रथम पुरस्कार: रु. १०,०००/–
द्वितीय पुरस्कार: रु. ७,०००/–
तृतीय पुरस्कार: रु. ५,०००/–
प्रोत्साहन पुरस्कार: रु. २,५००/–
विजेताहरूलाई सिल्ड/ट्रफी, मेडल, प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गरिनेछ। साथै, सबै सहभागी वक्ता र विद्यालयहरूलाई पनि सहभागिताको प्रमाणपत्र दिइनेछ।
सहभागी विद्यार्थीले आफ्नो विद्यालयको पोसाक र परिचयपत्र सहित, एकजना विषय शिक्षक वा विद्यालय प्रतिनिधिका साथ बिहान १०:३० बजे प्रतियोगिता स्थलमा उपस्थित हुनुपर्नेछ।
दर्ताका लागि :
प्रतियोगिताका लागि विद्यालयहरूले आफ्नो विद्यार्थीको नाम मङ्सिर ८ गते (२०८२/०८/०८) सम्म दर्ता गराइसक्नुपर्नेछ।
दर्ता शुल्क: रु. १,०००/–
सामुदायिक विद्यालयहरूका लागि: निःशुल्क दर्ता
फोनमार्फत दर्ता गर्न सकिने व्यवस्था पनि गरिएको छ।
