गैरआवासीय नेपालीको नयाँ नेतृत्वका लागि मतदान प्रक्रिया सुरु

काठमाडौँ, २८ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वका लागि मतदान प्रक्रिया सुरु भएको छ ।

नयाँ कार्यसमितिका लागि अध्यक्षमा निवर्तमान अध्यक्ष शेष घले र उपाध्यक्ष टिबी कार्कीले फरक–फरक प्यानल बनाएर चुनावी मैदानमा उत्रनुभएको छ । पूर्वमहासचिव रतनकुमार झाले भने आफ्नो उम्मेदवारी फिर्ता लिएर निर्वतमान अध्यक्ष घलेलाई सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

निर्वाचन समितिका अनुसार उपाध्यक्ष पदमा वर्तमान उपाध्यक्ष भुवन भट्ट, कुमार पन्त, लक्ष्यबहादुर गुरुङ, खगेन्द्र जिसी, नरेन्द्रबहादुर भाट र शमशेरसिंह थापाले उम्मेदवारी दिनुभएको छ ।

यस्तै, महासचिव पदका लागि डा बद्री केसी, पुष्पराज तिमल्सिना, पुष्प थापा र रञ्जु थापा तथा सचिव पदमा अर्जुनकुमार श्रेष्ठ, धरम केसी, गणेश केसी र सुरेन्द्रबहादुर श्रेष्ठले उम्मेदवारी दिनुभएको छ ।

यसैगरी, कोषाध्यक्ष पदमा भैरवप्रसाद ढकाल, चिरञ्जीवी थापा, हिक्मतबहादुर थापा, राजेन्द्र सिवाकोटी र यमकुमार गुरुङको उम्मेदवारी परेको छ । निर्वाचनमा विद्युतीय मेसिन प्रयोग गरिएका कारण केहीबेरमा नै नतिजा आउने एनआरएन जापानका कोषाध्यक्ष दीपक थापाले जानकारी दिनुभयो । मतदान केही बेरमा सुरु हुने जानकारी दिँदै कोषाध्यक्ष थापाले सम्मेलन ऐतिहासिक र महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्षमा सहमतिका लागि प्रयास भए पनि दुबै उम्मेदवारले दाबी नछाड्नु भएका कारण मतदान हुन लागेको हो । आज दिउँसो १ बजेसम्म सहमतिको प्रयास भए पनि सहमति हुन नसकेपछि निर्वाचन सुरु भएको उपाध्यक्षका प्रत्याशी भुवन भट्टले जानकारी दिनुभयो ।

यसअघि अधिवेशनको एनआरएनए संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, वर्तमान अध्यक्ष शेष घले, पूर्व अध्यक्षद्वय जिवा लामिछाने र देवमान हिराचनले संयुक्त रुपमा उद्घाटन गर्दै सकेसम्म नेतृत्व सर्वसम्मत हुनुपर्नेमा जोड दिनुभएको थियो ।

एनआरएनको ७१ राष्ट्रिय समन्वय परिषद् र एक अन्तर्राष्ट्रिय समन्वय परिषद् रहेको छ । अधिवेशनले नयाँ कार्यसमिति चयन गरेपछि शुक्रबार एनआरएन विश्व सम्मेलन सुरु हुनेछ । सम्मेलनको राष्ट्रपति डा रामवरण यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनमा पर्यवेक्षकसहित एक हजार ५०० भन्दा बढी एनआरएन सदस्यको सहभागिता रहेको छ । आगामी असोज ३० गते काठमाडौँ घोषणापत्र जारी गर्दै सम्मेलन सकिने आयोजकले जनाएका छन् । यो पटकको सम्मेलनले भूकम्पपछिको अवस्थामा नेपालमा पुनःनिर्माण र पूर्वाधार विकासमा वैदेशिक लगानी अभिवृद्धि गर्नेगरी योजना कार्यक्रम ल्याइने बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।