आन्दोलनमा क्षति पुगेको कपन प्रहरी प्रभाग पुनर्निर्माण पश्चात हस्तान्तरण
कपन अनलाइन
काठमाण्डौ,असोज ६।
बुढानिलकण्ठ नगरपालिका र आसपासका क्षेत्रमा शान्ति सुरक्षाका लागि स्थापना गरिएको कपन प्रहरी प्रभाग पुनर्निर्माण पश्चात हस्तान्तरण गरिएको छ।
GEN Z आन्दोलनका कारण क्षतिग्रस्त भएको कपन प्रहरी प्रभागको भवन स्थानीय संघ संस्थाको सहयोगमा पुनर्निर्माण गरेर हस्तान्तरण गरिएको समितिका संयोजक नवराज खनाल ( विक्रम ) ले जानकारी दिएका छन।
आन्दोलनका कारण भवन र प्रशासनिक लगायतका सामाग्रीहरु जलेर नस्ट भएको बताउदै उनले विभिन्न क्षेत्रको सहयोगमा करिव एक हप्तामै पुनर्निर्माण गरेर प्रहरीलाई हस्तान्तरण गरिएको जानकारी दिएका छन।
भाद्र २८ गते बाट सहयोग संकलन शुरु गरिएको पुनर्निर्माण कार्यका लागि असोज ३ गते सम्म १३ लाख ९६ हजार ६७४ रुपैया संकलन भएको जानकारी दिदै समितीका कोषाध्यक्ष लक्ष्मी प्रसाद धितालले हाल सम्म करिव १० लाख ७९ हजार खर्च भएको बताएका छन। अझै पनि पुनर्निर्माण कार्य र सहयोग संकलन जारी रहेकोले सम्पन्न भए पश्चात सम्पूर्ण हिसाव किताव सार्वजनिक गर्ने बताउदै उनले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन।
कपन प्रहरी प्रभाग भवन हस्तान्तरणको अवसरमा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, वडा नं १० का अध्यक्ष नवराज भट्टराई , वडा नं ११ का अध्यक्ष राजु अधिकारी , वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई सहित स्थानीय तथा सहयोगीहरुको उपस्थिति रहेको समितीका सचिव कृष्ण चौलागाईले जानकारी दिएका छन।
