उपत्यकामा ट्याक्सी दर्ता गर्ने प्रक्रिया सुरु

उपत्यकामा ट्याक्सी दर्ता गर्ने प्रक्रिया सुरु

काठमाडौँ, १९ असोज । यातायात व्यवस्था विभागले काठमाडौँ उपत्यकामा खाली रहेको एक हजार ८५० र थप एक हजार ५०० गरी तीन हजार ३५० ट्याक्सी थप्ने प्रक्रिया सुरु गरेको छ ।

nepal-airport-t_1435320133
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको असार पहिलो साताको निर्णयअनुसार यो प्रक्रिया सुरु गरिएको हो । जसमा ट्याक्सी व्यवसायीलाई ६५०, आम नागरिकलाई ७०० र स्वरोजगार मजदुरका लागि ५०० ट्याक्सी दर्ताको प्रक्रिया सुरु गर्न लागिएको विभागले जनाएको छ ।

ट्याक्सी व्यवसायीका लागि ब्लु बुक, आम नागरिकका लागि नागरिकता र स्वरोजगारलाई स्वरोजगारको प्रमाणपत्र आवश्यक पर्ने विभागका प्राविधिक निर्देशक नवीनकुमार पोखरेलले जानकारी दिनुभयो ।

“तीनै थरीका लागि आह्वान गरिएको निवेदनअनुसार ट्याक्सी व्यवसायीलाई मागेभन्दा कम अर्थात् ६३४ निवेदन मात्र आएकाले ट्याक्सी दर्ता गर्ने प्रक्रिया सुरु गरिएको छ” उहाँले भन्नुभयो । आम नागरिकका लागि ७०० निवेदन माग गरिएकामा सात हजार ९०७ परेकाले असोज २२ गते बालकुमारीको च्यासल फुटबल मैदानमा गोलाप्रथाद्वारा छनौट गरिने भएको छ ।

गोलाप्रथाद्वारा गरिने छनौट प्रक्रियाको बिहान १० बजेदेखि साँभm ५ बजेसम्म टिभी टुडे टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाइएको पनि विभागले जनाएको छ । असोज २९ गते सोही फुटबल मैदानमा स्वरोजगारका लागि पनि गोलाप्रथा गरी प्रत्यक्ष प्रसारण गरिने भएको छ । स्वरोजगारलाई ५०० निवेदन माग गरिएकामा करीब सात हजारको निवेदन दर्ता भएको छ ।

यो प्रक्रियापछि भूकम्प–पीडितका लागि ५००, डिलक्स ५०० र सुपर डिलक्स ५०० ट्याक्सी दर्ताको प्रक्रिया थाल्ने विभागले जनाएको छ । हाल उपत्यकामा पाँच हजार ६५० ट्याक्सी सञ्चालनमा छन् ।

विसं २०५७ पछि पहिलोपटक सरकारले ट्याक्सी दर्ता खुला गरेको हो । यो प्रक्रिया सकेपछि उपत्यकामा ट्याक्सीको सङ्ख्या नौ हजार पुग्नेछ ।

तपाइँको प्रतिक्रिया ।