मुक्तकहरू : डा.श्यामप्रसाद न्यौपाने

मुक्तकहरू : डा.श्यामप्रसाद न्यौपाने

कपन अनलाइन

काठमाडौँ, साउन ३१।

जिन्दगी भन्नु त्यति रसिलो कहाँ छ र
मान्छेको मुहार सधैँ हँसिलो कहाँ छ र
नदीको यात्रा देखेर वाह ! भन्नेहरू हो
नदीझैँ कर्ममा बग्न सजिलो कहाँ छ र ।।१।।

बिग्रिएको जहाजमा जे पनि हुनसक्छ
असहिष्णु समाजमा जे पनि हुनसक्छ
बेथितिले आकाशै छोयो पो के भन्नु
बेइमानको राजमा जे पनि हुनसक्छ ।।२।।

उपवनमा मौरीझैँ रमाउँछन् तिम्रा यादहरू
अचेल, निकै सताउँछन् तिम्रा यादहरू
सम्झनुभन्दा आँसुले बगाउन खोज्छु तर
झन् ताजा भएर पो आउँछन् तिम्रा यादहरू ।।३।।

पेटमा निकै कुरा पाक्यो किन होला
भेटघाट हुने रहर जाग्यो, किन होला
हिँड्दै थिएँ, जहाँ जहाँ हामी हाँस्दै हिड्थ्यौँ
कुक्क कुक्क बाडुल्की लाग्यो, किन होला ।।४।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।