सरकारले धेरै राम्रो गर्यो भन्न सकिने स्थिति छैनः एमाले नेता शेर बहादुर तामाङ

सरकारले धेरै राम्रो गर्यो भन्न सकिने स्थिति छैनः एमाले नेता शेर बहादुर तामाङ

कपन अनलाइन
काठमाडौँ, साउन १५।

नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले संवैधानिक परिषद्को (काम, कर्तव्य र अधिकार) सम्बन्धी विधेयक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको बेला २०७९ साल चैतमा संसद्मा दर्ता भएको बताएका छन् । उक्त विधेयकमा माओवादीले अहिले प्रतिपक्ष भएकै कारणमात्र विरोध गरिरहेको उनको भनाइ छ । आफैं सत्तापक्षमा भएको बेलामा दर्ता भएको विधेयक अहिले विरोध गर्नुको कुनै आचित्य नरहेको उनको भनाइ छ ।
नेता तामाङले अब राष्ट्रपतिले उक्त विधेयक दोस्रो पटक फिर्ता पठाउन नमिलने उनको भनाइ छ ‘संवैधानिक परिषद् सम्बन्धी विधेयक अहिले राष्ट्रपतिले फिर्ता गरेको भन्ने छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाले फेरि पठाएपछि अब फिर्ता गर्न मिल्दैन । संवैधानिक व्यवस्था नै यही हो । एकचोटी फिर्ता गर्न मिल्छ, फेरि पठाएपछि उहाँले फिर्ता गर्न मिल्दैन,’– उनले भने ।
उनले प्रचण्ड प्रधानमन्त्री भएकै बेलामा आएको उक्त विधेयकमा संवैधानिक परिषद्मा ५० प्रतिशत उपस्थित भए पनि गणपुरक पुगेको मानिने र सो मध्ये २ जनाको निर्णय बहुमत मानिने गरी संशोधन राखिएको उनले बताए ।
‘पुष्पकमल दाहालजी प्रधानमन्त्री हुँदा उहाँले दर्ता गर्नुभएको हो । संवैधानिक परिषद्को ५० प्रतिशत उपस्थित भएमा पनि गणपुरक मानिने । अब ५० प्रतिशत उपस्थित हुने भनेको ६ जना छ । ६ जनामा ३ जना उपस्थित हुन्छन् । ३ जनाभित्र २ जना त बहुमत भयो नि त । भएको यस्तो हो । त्यहाँ संख्याको गणना भन्दा पनि प्रतिशतको गणना हो,’– उनले भने ।
साथै, सबै प्रकृतिको अपराधमा आममाफी दिने विषय गलत हुने उनले बताए । उनले यसरी फौजदारी कार्यविधि संहिता संशोधन हुन लागेकोमा आफूलाई विश्वास नरहको उनले बताए । यदि संशोधन हुन लागेको हो भने पनि आफ्नो त्यसमा विमति रहेको उनको बताए । आफ्नो पार्टीले ल्याएको भए पनि यस्ता चिजहरुको विरोध गरिने उनले बताए । जघन्य अपराधको सूचीमा रहेको ११ वटा शीर्षकमध्ये केहीलाई पुनर्विचार गरौं भन्ने हिसाबले संशोधन अगाडि बढाइएको हो भने त्यसको बारेमा छलफल हुनसक्ने उनले बताए ।
‘यदि त्यसरी आएको हो भने व्यक्तिगत रुपमा मेरो पनि विरोध छ । जघन्य अपराधमा हामीले जुन ११ वटालाई मानेका छौं । जतिबेला संसद्मा हामीले देवानी, फौजदारी संहिताहरु बनाउँदै थियौं । त्यतिबेला म फौजदारी संहिता बनाउने समितिमै थिएँ । त्यसमा धेरै वर्कआउट गरेका छौं हामीले । त्यसरी आएको छ भने त्यो कमजोरी हुन्छ,’– उनले भने ।
साथै, अघिल्लो सरकारको खाल्डो पुर्ने क्रममा यो सरकारलाई ६ महिना लागेको उनले बताए । उनले अहिलेको सरकारले धेरै राम्रो गर्यो भन्न सकिने अवस्था नरहे पनि सकारात्कतातर्फ उन्मुख रहेको उनले बताए । ‘अहिले एक वर्षपछि हामीले हेर्दा धेरै सूचाङ्कहरु नेगेटिभ थिए, अहिले पोजेटिभ छ । धेरै राम्रो भयो, एकदम राम्रो भयो भन्न सकिने स्थिति छैन । तर, सकारात्मक दिशातर्फ उन्मुख छ र हरेक सुचाङ्कहरु सकारात्मकतातर्फ अगाडि छ,’– उनले भने ।

 

तपाइँको प्रतिक्रिया ।