मूलबाटो : त्रिलोचन आचार्य (कविता)

मूलबाटो : त्रिलोचन आचार्य (कविता)

कपन अनलाइन

काठमाडौं, साउन३।

१. रोजेर बाटो कति छन् बसेका
बाटो नपाई कति छन् फसेका
भेटेछु मैले बरु टेक्न माटो
खोजी रहेको छु म मूलबाटो
२. देख्दा यहाँ छन् कति धेर बाटा
नाघेर आयौँ कति खेर बाटा
निर्धक्क हिँड्दा तर बढ्छ फाटो
खोजी रहेको छु म मूलबाटो
३. छानेर हिँड्छन् कति चोर बाटो
आई अडिन्छन् कति जोर बाटो
भन्छौँ सबैले नहिँडौँ कुबाटो
खोजी रहेको छु म मूलबाटो
४. बाटो हिँडेको त भयो नि धेरै
कैले ढिलो वा कहिले सबेरै
भन्छन् नजान्ने अति नै तँ लाटो
खोजी रहेको छु म मूलबाटो
५. बाटो चिनाई जननी हिँडेको
निर्धक्क मान्छे अघि लम्किएको
पाउन्न खै त्यो रुप रंग टाटो
खोजी रहेको छु म मूलबाटो
६. हिँड्दैछु बाटो नजिकै अडिन्छ
खै लक्ष्य व्यर्थै सब गड्बडिन्छ
भेटिन्छ झन् घाउ रहन्छ खाटो
खोजी रहेको छु म मूलबाटो
८. गर्नै छ सेवा अझ बारबार
भन्दै गरौँ काम सधैँ अपार
कोही नठानून् अब फेर्छ साटो
खोजी रहेको छु म मूलबाटो
९. बाँचौँ बचाऊँ सब यो समाज
बाटो हुँदैनन् किन निर्विवाद ?
छन् द्वेषका साथ अनेक राँटो
चाहिन्छ हिँड्नै अब मूलबाटो

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।