काठमाण्डौ महानगरपालिकामा कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १७,२२९ आवेदन प्राप्त

काठमाण्डौ महानगरपालिकामा  कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १७,२२९ आवेदन प्राप्त

कपन अनलाइन

काठमाडौं, असार ३१  ।

काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि आवेदन आह्वान गरेको थियो । उक्त आवेदन प्रक्रियामा देशभरका ७७ वटै जिल्लाबाट कुल १७ हजार २२९ विद्यार्थीले आवेदन दिनु भएको छ ।

शिक्षा विभागका शिक्षा अधिकृत लक्ष्मी पौडेलका अनुसार आवेदन दिने विद्यार्थीहरूमा विज्ञान विषयमा १२ हजार ३३७, व्यवस्थापन विषयमा ४ हजार ४८१, मानविकी विषयमा ३४, शिक्षा विषयमा १०४ र कानुन विषयमा २७३ जनाले आवेदन दिनु भएको छ । यो तथ्यांकले विज्ञान विषयप्रति विद्यार्थीहरूको उच्च आकर्षण देखाउँछ, जुन कुल आवेदनको झन्डै ७१% हो ।

हाल सबै प्राप्त आवेदनहरूको रुजु कार्य तीव्र गतिमा भइरहेको छ । यो प्रक्रिया असार ३२ गते बिहानसम्म सम्पन्न हुने र त्यसपछि बाँकी प्रक्रियाहरू पूरा गरी साउन १ गते देखि विद्यार्थीहरूले अनलाइनमार्फत प्रवेश पत्र डाउनलोड गर्न सक्नु हुने छ । प्रवेश पत्र डाउनलोड गर्न काठमाडौं महानगरपालिकाको आधिकारिक वेबसाइटwww.kathmandu.gov.npवाentrance.kathmandu.gov.npमा गएर “एडमिट कार्ड“ बटनमार्फत आवश्यक विवरण भरेर प्राप्त गर्न सकिनेछ । प्रवेश पत्रमा परीक्षा केन्द्रसम्बन्धी जानकारी पनि उल्लेख हुनेछ ।

 

विषय सामुदायिक संस्थागत महिला पुरुष अन्य जम्मा
विज्ञान 7290 5046 4774 7558 4 12336
व्यवस्थापन 2604 1878 1639 2841 2 4482
मानविकी 18 16 20 14 34
शिक्षा 43 61 47 57 104
कानुन 132 141 142 131 273
जम्मा 10087 7142 6622 10601 6 17229

छात्रवृत्ति परीक्षा साउन ३ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ । परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ, जसमा अनिवार्य गणित, विज्ञान र अंग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न सोधिनेछ । सबै प्रश्नहरू बहुवैकल्पिक प्रकारका हुनेछन् । परीक्षा उत्तीर्ण गर्न न्यूनतम ४० प्रतिशत अंक प्राप्त गर्नुपर्नेछ र गलत उत्तरका लागि नकारात्मक अंकन (नेगेटिभ मार्किङ) गरिने छैन ।

परीक्षापछि मेरिट सूचीका आधारमा छात्रवृत्ति प्रदान गरिनेछ । यो छात्रवृत्ति कार्यक्रमले आर्थिक रूपमा विपन्न तर जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय शिक्षाको अन्तिम तह (कक्षा ११, १२) छानेको शिक्षण सस्थाबाट प्राप्त गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ ।

तपाइँको प्रतिक्रिया ।