बाल विकास बोर्डिङ हाई स्कुलमा एसईईको २४ औँ ब्याचका विद्यार्थीहरूको बिदाइ सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,असार २७।
काठमाडौँ जिल्लाको उत्तरी भेगमा अवस्थित बाल विकास बोर्डिङ हाइ स्कुलले आफ्नो स्थापनाकालदेखि २४ औँ ब्याचसम्मको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
यसै क्रममा २४ औँ ब्याचका विद्यार्थीहरूलाई भव्य कार्यक्रम सञ्चालन गरी बिदाइ दिएको छ । विद्यालयका कार्यवाहक प्रधानाध्यापक दिनेश श्रेष्ठको अध्यक्षतामा आयोजना भएको उक्त कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष शङ्करदास श्रेष्ठको पनि गरिमामय उपस्थिति थियो । शिक्षाविद तथा समाजसेवी ब्रम्हदेव श्रेष्ठले प्रमुख अतिथिको भूमिका निर्वाह गरेको उक्त कार्यक्रममा विद्यार्थीहरूलाई उपहार सहित फ्रेम वितरण गर्नुका साथै खादा ओढाएर सम्मान गरिएको थियो ।
विद्यालयका अङ्ग्रेजी विभाग प्रमुख किशोर के . सी ले स्वागत मन्तव्यद्वारा कार्यक्रममा उपस्थिति जनाउनुहुने सबैलाई स्वागत गरेका थिए भने सामाजिक विषयका प्रमुख दिनेश सिग्देलले विद्यार्थीहरूका उज्यालो भविष्यका लागि शुभकामना अर्पण गर्दै महत्त्वपूर्ण सल्लाह सुझाव दिएका थिए ।
कार्यक्रममा एस ई ई २४ औँ ब्याचमा 3.96 जि पि ए प्राप्त गरी उत्कृष्ट नतिजा ल्याउनुहुने छात्रा स्नेहा अधिकारीले विद्यालयीय जीवनका आफ्ना अनुभव सुनाउँदै विद्यालय र सम्पूर्ण शिक्षकप्रति कृतज्ञता ज्ञापन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि ब्रम्हदेव श्रेष्ठले आफ्ना सारगर्भित मन्तव्यद्वारा विद्यार्थीहरूलाई मार्गदर्शन हुने खालका महत्त्वपूर्ण भनाइ प्रस्तुत गरेका थिए ।
२४ औँ ब्याचका ३१ जना विद्यार्थी र उहाँहरूका अभिभावकज्यूहरूलाई समेत सम्मान गरिएको सो कार्यक्रमको समापन कार्यक्रमका सभाध्यक्ष दिनेश श्रेष्ठको ओजपूर्ण भनाइहरूका साथ भएको थियो ।
