एनआरएनए यूकेको अध्यक्ष पदमा राजेन्द्र पुडासैनीले गरे उम्मेदवारी घोषणा
कपन अनलाइन
काठमाण्डौ ,असार २७।
एनआरएनए यूकेको अध्यक्ष पदका लागि राजेन्द्र पुडासैनीले उम्मेदवारी घोषणा गरेका छन् ।
पुडासैनीले सन् २०२५-२०२७ कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
एनआरएनए स्थापनामा प्रमुख भूमिका निर्वाह गरेको देश बेलायतमा साथीभाई र अग्रजहरुको सल्लाह बमोजिम आफूले उम्मेदवारी दिने निधो गरेको उनले बताए ।
एकताबद्ध र एउटै एनआरएनए, नेपाली नागरिकताको निरन्तरता, नेपालमा रहेको सम्पत्तिको सुरक्षा, भूतपूर्व ब्रिटिश गोर्खाजको समानता लडाईंमा ऐेक्यवद्धता, एनआरएनएमा नयाँ पुस्ताको सहभागिता, नेपाली कला, साहित्य र संस्कृतिको संवर्धन एवं प्रवर्धन, नेपाली विद्यार्थी र कामदारहरुको अधिकार तथा सुरक्षा जस्ता विषय आफ्नो प्रमुख मुद्दा भएको पुडासैनीले बताए ।
एनआरएनए अभियानमा एकताबद्ध भएर लागे सबै मुद्दा समाधान गर्न सकिने उनले बताए । एनआरएनए यूकेलाई नमुना संस्था बनाउने आफूसंग विशेष ‘रोडम्याप’ भएको उनको जिकिर छ ।
अन्याय अत्याचारविरुद्ध लड्ने र अप्ठेरो परेका मानिसलाई सहयोग गर्ने आफ्नो स्वभाव रहेको बताउंदै पुडासैनीले समाजकै लागि काम गर्ने अठोट व्यक्त गरे ।
आफु निर्वाचित भएमा एनआरएनए केन्द्र तथा एनसीसीहरुलाई पनि एकताबद्ध बनाउन आफुले सक्दो पहल गर्ने उनले बताए।
को हुन् पुडासैनी ?
नुवाकोटको साविक जिलिङ गाउंपालिका २, हाल बेलकोटगडी नगरपालिका ८ का स्थायी बासिन्दा पुडासैनी स्वर्गीय उपेन्द्र पुडासैनी तथा माता लोकमाया पुडासैनीको माइला सुपुत्र हुन् । उनी २५ वर्ष अगाडि बेलायत आएका थिए ।
पढाइकै क्रममा बेलायतको प्रतिष्ठित युनिभर्सिटीबाट एमबीए तथा बीएस्सी अनर्स उत्तीर्ण गरे पछि विगत १५ वर्षदेखि बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा उनी कार्यरत छन् । श्रीमती भवानी पुडासैनी, ३ छोरा, २ नाती र १ नातिनीका हजुरबुवा उनी विद्यार्थीकालदेखि नै सामाजिक रुपान्तरणमा क्रियाशील थिए ।
नेपालमा रहंदा सरस्वती बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सभापति समेत भएका पुडासैनी बेलायतको ट्रेड युनियन आन्दोलनको अग्रणी मोर्चामा रहेर काम गरिरहेका छन् ।
बेलायतको सबैभन्दा ठूलो ट्रेड युनियनमध्ये एक जीएमबी नेशनल युनियन लन्डन सेन्टर नर्थको सचिव पदमा रहि उनले श्रमिकहरुको हकहितको पैरबी गर्दैछन् ।
उनले बेलायतस्थित यती नेपाली एसोसिएसन यूकेको दुईपटक महासचिव, प्रवासी नेपाली मञ्च बेलायतको अध्यक्ष लगायत विभिन्न संघसंस्थाको सल्लाहकार हुंदै एनआरएनए अन्तराष्ट्रिय कमिटीको २०२१–२३ मा सदस्य समेत थिए ।
नेपालमा महाभूकम्प, बाढी पहिरोजस्ता प्राकृतिक विपदहरुमा बेलायती स्वास्थ्यकर्मीहरुको नेतृत्व गर्दै उनले उल्लेख्य सहयोग गरेका थिए ।
एनआरएनए यूकेको नयाँ कार्यसमिति चयन गर्न २६ जुलाईमा अनलाइनमार्फत चुनाव हुदैछ भने राष्ट्रिय महाधिवेशन २७ जुलाई, २०२५ मा आयोजना गरिदै छ ।
“बेलायतको नेपाली समाजलाई एकजुट गर्न र दुइ देश बीचको ऐतिहासिक सम्बन्धलाई जनस्तरमा अरु बढी सुदृढ गर्न मैले सक्दो भूमिका निर्वाह गर्नेछु,”पुडासैनीले भने।
