बुढानीलकण्ठ-२ मा धोबिखोला कोरिडोर नजिकैको सार्वजनिक जग्गाबाट अवैध संरचना हटाइयो
कपन अनलाइन
काठमाण्डौ,असार १९।
बुढानीलकण्ठ नगरपालिका–०२ स्थित धोबिखोला करिडर नजिक रहेको सिट नं. १०२-०९०८-१९ को कित्ता नं. २५ मा सार्वजनिक जग्गा अतिक्रमण गरी अव्यवस्थित रुपमा निर्माण गरिएका संरचना हटाइएको छ।
२०८२ साल असार १८ गते (आज) नगर सार्वजनिक जग्गा संरक्षण समितिको नेतृत्वमा, नगर प्रहरीसहितको संयुक्त टोलीले डोजर प्रयोग गरी टहरा र पर्खाल भत्काएको हो। पटक–पटक जानकारी गराउँदा पनि अतिक्रमण हटाउने कार्य नगरेपछि बाध्य भएर यस्तो कारबाही गरिएको समिति संयोजक लक्ष्मी संग्रौलाले दिएका छन ।
नगर प्रहरीको सक्रिय सहभागितामा डोजर प्रयोग गरी संरचना हटाइएको र अब यस्ता कारबाहीलाई निरन्तरता दिने संयोजक संग्रौलाले जानकारी दिए ।
सो कारबाहीमा वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ, वडा सदस्य विनोद लामिछाने, सार्वजनिक जग्गा संरक्षण समितिका संयोजक लक्ष्मी संग्रौला, नगर प्रहरी निरीक्षक लगायत समिति सदस्यहरू तथा कर्मचारीहरूको उपस्थिति थियो।
नगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षणमा सबैको सहयोग र चेतनाको आवश्यकता औंल्याउँदै, अवैध संरचना निर्माण नगर्न आम सर्वसाधारणलाई अनुरोध गरेको छ।
