तामेलीमा रहेको मुद्दा जगाएर माधव नेपालमाथि राजनीतिक प्रतिशोध साँधियोः उपाध्यक्ष खतिवडा

तामेलीमा रहेको मुद्दा जगाएर माधव नेपालमाथि राजनीतिक प्रतिशोध साँधियोः उपाध्यक्ष खतिवडा

कपन अनलाइन

काठमाण्डौ ,असार १३।

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टी अध्यक्ष माधव कुमार नेपाल राजनीतिक षड्यन्त्रको जालोमा परेको बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०६९ सालमा नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राखेको मुद्दा ब्यूँत्याएर जालझेल गरिर्एको बताएका हुन् । उपाध्यक्ष खतिवडाले ०६९ मा तामेलीमा राखिएको मुद्दा किन अहिले ब्यूँताइयो भन्ने प्रश्नको उत्तर स्वयं अख्तियारसँग पनि नरहेको दाबी गरे । ०६९ मा तामेलीमा राखेको मुद्दा जगाएर पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाललाई प्रतिवादी बनाउन अख्तियार एक्लैले आँट गरेको भन्नेमा आफूलाई विश्वास नरहेको उनले बताए ।
‘राजनीतिमा षड्यन्त्रको अनेकै जालहरु बुनिरहेको तपाईँहरु देख्न सक्नुहुन्छ । त्यही षड्यन्त्रको महत्वपूर्ण जालोको अंगको रुपमा माधव कुमार नेपाललाई उपयोग गर्नका निम्ति सत्ताले संरक्षण गरेर राजनीतिक प्रतिशोध साध्ने काम भएको छ । अदालतलाई धन्यवाद दिनुपर्छ, हिजोमात्रै ती षड्यन्त्रका बाबजुद माधव नेपालाई धरौटीमा छाडेको छ । अदालतमाथि भरोसा गरौं, विश्वास गरौं,’– उनले भने ।
नेता खतिवडाले माधव नेपालको सादगी, इमानदार, नैतिकवान छविलाई धुल्मुल्याउनका लागि मुद्दा अगाडि बढाइएको दाबी गरे । अध्यक्ष नेपाललाई उनले ‘टावर पर्शनालिटी, राष्ट्रिय व्यक्तित्व, राष्ट्रिय नेता’ को रुपमा चित्रण गरे । उनले अध्यक्ष नेपालको नाममा भ्रष्टाचारको कुनै कलङ्क र कुशासनको कलङ्क नरहेको अवस्थामा प्रतिशोध राखेर पतञ्जली योग पीठको मुद्दा अगाडि बढाइएको बताए । ‘इमादार उसको छविलाई बिटुल्याउको निम्ति केही व्यक्तिहरुले, संस्थालाई प्रयोग गरे भन्ने कुरा घटनाक्रमले पुष्टि गर्छ,’– उनले भने ।
भूमिसम्बन्धी ऐनमा प्रष्ट व्यवस्था गरिएअनुसार मन्त्रिपरिषद्को निर्णयबाट पतञ्जलीलाई हदबन्दी भन्दा बढी जग्गा राख्न दिने नीतिगत निर्णय भएको उनको दाबी छ ।
नेता खतिवडाले अहिले देशको राजनीति नयाँ प्रकारको समस्याबाट गुज्रिरहेको बताए । देशको राजनीतिसुशासन र कुशासनको सक्रमणकालबाट गुज्रिरहेको उनको टिप्पणी रहेको छ । परिवर्तनलाई संस्थागत गर्नको निम्ति सुशासन र रोजगारी सरकारको पहिलो केन्द्रविन्दुमा हुनुपर्नेमा त्यसो हुन नसकेको उनले बताए ।
साथै, वर्तमान सरकारको औचित्य नै समाप्त भइसकेको उनको दाबी छ । जनता समाजवादी पार्टी नेपालले समर्थन फिर्ता लिएपछि राष्ट्रिय सभामा सरकार अल्पमतमा परिसकेको उनले बताए । यस्तो अवस्थामा वर्तमान सरकारले अगाडि बढाएको संविधान संशोधनको एजेण्डाको औचित्य नै सकिएको उनको टिप्पणी छ ।
‘जसपा नेपालले समर्थन गरेको सरकार थियो । राष्ट्रिय सभामा समर्थन पाउँछु कि भन्ने जीवित रहेको आशा पनि हिजोदेखि समाप्त भइसकेको छ । यस कारण अब त्यो राजनीतिक औचित्य, संविधान संशोधनको औचित्य अब वैधानिक रुपमा पनि समाप्त भइसकेको छ । अब संविधान संशोधनको एजेण्डा उठाउनका निम्ति आफूसँग बहुमत नभएको सरकारले सरकारको औचित्य पनि गुमायो र संविधान संशोधनको औचित्य पनि समाप्त गर्यो,’– उनले भने ।
नेता खतिवडाले बजेट विनियोजनमा पनि सरकारले देशको ढुकुटी दुरुपयोग गरेको आरोप लगाए । निश्चित जिल्लाहरुमा मात्रै बजेट खन्याइएको उनको आरोप छ । ‘केही नेताहरुले राष्ट्रको ढुकुटीको दुरुपयोग गरेका छन् । संसद्मै सांसदहरुले बजेट पुस्तिका च्यातेका छन्, उपप्रधानमन्त्री, प्रधानमन्त्रीलाई तिमी अर्को पटक हार, पराजीत होऊ, तिमीजस्तो नेताको काम छैन भनेर अनेक पटक गाली गरेको, सरापेको सुनिरहनुभएको छ,’– उनले भने ।

तपाइँको प्रतिक्रिया ।