बुढानीलकण्ठ-१० मा ‘कोपिलाका कुरा’ कार्यक्रम सुरु
कपन अनलाइन
काठमाण्डौ ,असार ५।
बुढानीलकण्ठ नगरपालिका वडा नं. १० मा बालबालिकामैत्री वातावरण प्रवर्द्धन गर्ने उद्देश्यले ‘कोपिलाका कुरा’ कार्यक्रम सुरु गरिएको छ। असार ४ गतेदेखि सुरु भएको कार्यक्रमको पहिलो चरण श्री बालउद्दार माध्यमिक विद्यालयबाट प्रारम्भ भएको हो।
कार्यक्रमको उद्घाटन सत्रमा वडा अध्यक्ष नवराज भट्टराई, वडा सदस्यहरू चन्द्रमान श्रेष्ठ, दिलकुमारी बिक, वडा सचिव भोला ढुङ्गाना, विद्यालय व्यस्थापन समिति अध्यक्ष ध्रुव प्रसाद घिमिरे तथा विद्यालयका प्रधानाध्यापक विनोद पण्डित लगायतको उपस्थिति थियो।
कार्यक्रमका क्रममा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको छ। ‘कोपिलाका कुरा’ कार्यक्रम बुढानीलकण्ठ-१० का विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयहरूमा क्रमशः संचालन गरिने वडा अध्यक्षले जानकारी दिएका छन।
वडा अध्यक्ष नवराज भट्टराईले बालबालिका भविष्य रहेकोले उनीहरूको आवाज सुन्ने र सकारात्मक विकासमा सहजीकरण गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको बताउदै कोपिलाले बोल्न थालेपछि समाजले सुन्नुपर्ने धारणा राखेका थिए।
बालबालिकासँगको अन्तरक्रियामा विद्यालयमा सुरक्षित वातावरणको सुनिश्चितता, लैङ्गिक हिंसा र साइबर सुरक्षाजस्ता संवेदनशील विषयमा विद्यार्थीहरूले खुलस्त आफ्नो धारणा राखेका थिए ।
सो अवसरमा अनलाइन शिक्षामा सबैको पहुँच नहुँदा देखिने असमानता र डिजिटल शिक्षामा आवश्यक सुविधा अभावका कारण उत्पन्न चुनौतीबारे पनि विद्यार्थीहरूले प्रश्न उठाएका थिए ।
