भन्देन घण्टाघर : त्रिलोचन आचार्य (कविता )

भन्देन घण्टाघर : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २४।

१. देख्दैछस् इतिहासदेखि कसले के के गरे दुष्कृति
हुन्थ्यो तोक्नु सजाय रीत जगको भाँड्ने विगार्ने स्थिति
को गर्छन् व्यभिचार ? आखिर यहाँ, मान्दै नमानी डर
सारा पोल तँ एक एक सबको खोल्दे न घण्टाघर

२. हत्यारा छ कहाँ लुकेर रहने ती निर्मला पन्तको ?
हत्यारा छ कहाँ ? अझै मदनको धेरै लुक्यो त्यो अहो !
राजानै पनि मारिए तर यतै होला अझै हिंश्रक
ती को हुन् कसरी सुरक्षित भए ? भन्दे न घण्टाघर

३. घिच्दै बस्दछ राज्यकोष कसले ? यो देश कंगाल भो
सेता दाँत टलक्क नै छ कसको ? खाएर अं्रगार त्यो
मान्छे मानव नै चुसेर कसरी ? डुल्दैछ हे ! घर्घर
को होलान् ? पहिचान आज तिनको खोल्देन घण्टाघर

४. को हिँड्दैछ ?अनेक यी नद नदी बेचेर आँखा छली
को चोर्दैछ बजेट रेड बुकको ? बन्दै उही सक्कली
न्यायाधीश न दिन्छ न्याय जनता पोलिन्छ भट्टातिर
ती काला रहने भए सब उसै, भन्देन घण्टाघर

५. चोर्दैछन् दुध नित्य यैँ घुमिघुमी काला बिरालाहरु
साह्रै मुश्किल चिन्न पुक्क तिनका हेरेर गालाहरु
खोक्रो पारिसके बनेर धमिरो लड्दैछ पक्कै चर
मुक्का हान्नु प¥यो चिनौँ म कसरी भन्दे न घण्टाघर

६. चोरीका घटना सधैँ छ तर खै भेटिन्न चोर्ने जन
फोरिन्छन् घरनै परन्तु सहजै लाग्छन् सबैै सज्जन
छन् उस्तै सब चोर साधु सहसा हुन् बाँनरै वा नर ?
हेर्दैछस् पहिचान के छ तिनको ? भन्दे न घण्टाघर

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।