‘द ब्ल्यू लाइट’मा अर्पण थापा अनुबन्धित
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १५।
केही दिन अघि थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको चलचित्र ‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा अर्पण थापा अनुबन्धित भएका छन् ।
‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गर्नेछन् । चौहान अहिलेको प्रतिक्षित चलचित्र ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक हुन् । चौहानको यो डेब्यु निर्देशन हो ।
साइकोलजिकल थ्रीलर जनरामा निर्माण हुन लागेको चलचित्रको शीर्षमध्येको एक भूमिकामा थापालाई मंगलवार औपचारिक रूपमा अनुबन्धित गरिएको निर्माण टिमले जनाएको छ ।
स्काइफल पिक्चर्सको प्रस्तुति रहने ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे रहनेछन् । जेठ २१ देखि छायांकन सुरु हुने ‘द ब्ल्यू लाइट’लाई नरेन्द्र मैनालीले खिच्नेछन् ।
गत मंगलवार सार्वजनिक गरिएको थिम पोस्टरमा निलो रङले घेरिएको वातावरणबीच एक बालिका उभिएको देख्न सकिन्छ । पोस्टरमा बालिकाको कम्मरदेखि माथिसम्मको भाग देखाइएको छ, र उनको जुङरुङ्ग कपाल तथा विछिप्त मुद्राबाट चलचित्रको रहस्यमय तथा मनोवैज्ञानिक पृष्ठभूमि झल्किन्छ । यद्यपि, पोस्टरले पूर्ण कथावस्तु प्रस्ट पार्दैन ।
निर्देशक चौहानले चलचित्रको कथावस्तु र अन्य कलाकारहरूको विवरण हाललाई गोप्य राखेका छन् । उनले चाँडै कलाकारको पूरै लाइनअप सार्वजनिक गरिने बताएका छन् ।
‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै रिलिज हुने निर्माणपक्षको भनाइ छ ।