एनएसजेएफको नवनिर्वाचित कार्यसमितिलाई राखेपको बधाई तथा शुभकामना
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १४।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले मंगलबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना दिएको छ ।
राखेपका सदस्य–सचिव टङकलाल घिसिङले एनएसजेफको टिमसँग आफ्नो कार्यकक्षमा साक्षात्कार गर्दै नवनिर्वाचित टिमको कार्यकाल सफलताको कामना गरे । गत बैशाखमा एनएसजेएफको २० औँ साधारण सभा तथा निर्वाचनले निरञ्जन अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको थियो । सो कार्यसमितिले प्रजित शाक्य, नवीन लुइँटेल र अनन्त वाग्लेलाई सदस्यमा मनोनित गरेर कार्यसमितिलाई पूर्णता दिएको थियो । शाक्यलाई एनएसजेएफ प्रवक्ताको जिम्मेवारी पनि दिइएको छ ।
सदस्य–सचिव घिसिङले खेलकुद पत्रकार मञ्चसँग मिलेर राखेप खेलकुदसम्बन्धी ‘कन्क्लेभ’ को आयोजना गर्न इच्छुक रहेको बताउदै नेपाली खेलकुदसम्बन्धी अनुसन्धानका लागि एनएसजेएफ एकेडेमीसँग मिलेर काम गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । सदस्यसचिव घिसिङले एनएसजेएफको आयोजनामा हुने पल्सर स्पोट्र्स अवार्डको प्रशंसा पनि गरे ।
खेलकुद पत्रकार मञ्चका नवनिर्वाचित अध्यक्ष अधिकारीले राखेपले खेलकुद पत्रकार मञ्चको यात्रामा सँधै सहकार्य गर्दै आएको र यी दुई संस्थाबिचको सम्बन्ध अझ सुमुधुर हुने बताए । उनले आगामी दिनमा पनि नेपाली खेलकुदको विाकसमा यी दुई संस्थाबीच सँधै रचनात्मक र सिर्जनात्मक सहकार्य हुने विश्वास व्यक्त गरे ।