बुढानीलकण्ठ कुङफुको आयोजनामा प्रथम एसियाली मिक्स बक्सिङ प्रतियोगिता शुक्रबारदेखि हुने

बुढानीलकण्ठ कुङफुको आयोजनामा प्रथम एसियाली मिक्स बक्सिङ प्रतियोगिता शुक्रबारदेखि हुने

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १०।

नेपाल मिक्स बक्सिङ संघ, उमा नेपाल र बुढानीलकण्ठ कुङफुको संयुक्त आयोजनामा प्रथम एसियाली मिक्स बक्सिङ प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, थाइल्यान्ड, बंगलादेश र श्रीलंका गरी ६ राष्ट्रका १ सय ५० खेलाडीको सहभागिता रहने आयोजक मिक्स बक्सिङ संघका अध्यक्ष सुकमान लामाले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । इराक, इरान र अफ्गानिस्तानका प्रतिनिधि पनि प्रतियोगिताका लागि नेपाल आउने छन् ।
बूढानीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रतियोगितामा सिनियर, सब जुनियर र जुनियर गरी विभिन्न ३० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । कुनैपनि मार्सल आर्ट्सको राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडी प्रतियोगितामा सहभागी हुन पाउने छन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३१ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । सहभागीको खाना र बसोवासको व्यवस्थापन आयोजकले गर्ने छ ।
पत्रकार सम्मेलनमा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, बूढानीलकण्ठ नगरपालिकाका खेलकुद संयोजक एवं वडा ८ का अध्यक्ष सुमन तामाङले प्रतियोगिताको ट्रफी पनि सार्वजनिक गरेका थिए ।
सो अवसरमा बोल्दै मेयर अधिकारीले बूढानीलकण्ठ नगरपालिकाले खेलकुदको विकास र खेलाडीको हितलाई मध्यजनर गरी विभिन्न गतिविधि सञ्चालन गरिरहेको बताउदै प्रतियोगिताले बूढानीलकण्ठ नगरपालिकाको मात्र नभइ समग्र नेपालको पहिचान गराउन टेवा पु¥याउने विश्वास व्यक्त गरे । उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने नगरपालिका खेलाडीका लागि नगद पुरस्कारको व्यवस्था गरिएको बताउदै वार्षिक क्यालेन्डर नै बनाएर नगरको खेलकुदलाई चलायमान बनाउने योजना रहेको बताए ।
खेलकुद संयोजक तामाङले प्रतियोगिताले पर्यटन प्रवर्धनमा  सहयोग पुग्ने विश्वास व्यक्त गर्दै प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सरोकार सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।
सो अवसरमा युकेस्थित उमा मुख्यालयबाट प्राप्त मिक्स बक्सिङ संघका अध्यक्ष सुकमान लामाको ब्ल्याक वेल्ट चौथो डानको प्रमाण पत्र पनि प्रदान गरिएको थियो । उमा नेपालका अध्यक्ष अशुराज श्रेष्ठको उपस्थितिमा मेयर अधिकारीले अध्यक्ष लामालाई प्रमाण पत्र हस्तान्तरण गरे ।
कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका उप मेयर अनिता लामा, नेपाल बक्सिङ महासंघका वरिष्ठ उपाधयक्ष अर्जुनबहादुर केसी, महासचिव मानबहादुर भण्डारी, बूढानीलकण्ठ नगरपालिकाका विभिन्न वडाका अध्यक्षलगायतको उपस्थिति रहेको थियो । दुईदिने प्रतियोगिताका खेलहरु बूढानीलकण्ठ नगरपालिका वडा ३ स्थित बूढानीलकण्ठ बैंक्युटमा खेलाइने छ ।

तपाइँको प्रतिक्रिया ।