ग्यारेन्टी : सत्यजीत (लघुकथा)
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १०।
सुबोधले नयाँ मोबाइल किन्यो– “२ वर्ष ग्यारेन्टी!” भनेर ठूला अक्षरमा लेखिएको थियो । उसको मनमा खुसीका तरङ्ग चल्न थाल्यो । तर एक हप्ता नबित्दै मोबाइलमा समस्या आयो। चार्ज छिटो सकिने र बन्द हुने ! ऊ ग्यारेन्टी कार्ड लिएर पसलमा पुग्यो। पसलेले मोबाइल उल्ट्याएर हेर्यो, अनि गम्भीर स्वरमा भन्यो,“यसमा स्क्र्याच छ, ग्यारेन्टी लाग्दैन !”
सुबोध चकित, “तर स्क्र्याच त ढकनी खोल्दा आफै लागेको हो !”
पसले हाँस्दै भन्यो, “हामीले ‘२ वर्ष ग्यारेन्टी’ भनेका हौँ, तर सर्तहरू लागू हुन्छन् नि !”
सुबोधले सोध्यो, “त्यो सर्त कहाँ लेखिएको छ त ?”
पसले मोबाइलको डब्बा देखाउँदै भन्यो, “यो अक्षर पढ्नुभयो ? यही तेस्रो लाइनमा लेखिएको छ–फिजिकल ड्यामेजमा ग्यारेन्टी मान्य हुने छैन !”
सुबोधसँग कुनै जवाफ थिएन । उसले मोबाइल चुपचाप ब्याकमा हाल्यो । र सोध्यो, “त्यसरी त तपाईंको ग्यारेन्टी भनेकै ढाँटको ग्यारेन्टी भएन र?”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक