राष्ट्रब्यापी रेटिङ चेसमा नेपाल च्याम्पियन रुपेशको एकल अग्रता
कपन अनलाइन
काठमाण्डौ, जेष्ठ ४।
विर्तामोड चेस क्लबको आयोजना तथा किरात याक्थुक चुम्लुङको सह – आयोजनामा दोस्रो दिनको खेल सम्पन्न हुँदा नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैशवालले ५ अंक सहित एकल अग्रता लिएका छन्।
उभौली पर्वको अवसर पारेर विर्तामोड सिटि सेन्टरमा सञ्चालन खेल मध्ये चौथो चरणमा रुपेशले झापाका सुमन श्रेष्ठलाईलाई हराए भने पाँचौ चरणमा पूर्व नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईं माथी संघर्षपुर्ण जित निकाले। स्पर्धाको पाँच चरण खेल सक्दा झापाका पूर्व नेपाल च्याम्पियन राजन सुवेदी , प्रकाश नेपाल , पाँचथरका रिसोन थापा र सुनसरीका राजेन्द्र राई साढे ४ अंक सहित संयुक्तरूपमा दोस्रो स्थानमा रहेका छन्।
राजनले आयोजक क्लबका ज्वाला लिम्बुलाई चौथो चरणको खेलमा निराश पारेका थिए भने पाँचौ चरणको खेलमा प्रकाश नेपालसंग बराबरी खेली अंक बाँडे। प्रकाशले चौथो चरणको खेलमा मोरडका लोक सागर साम्वालाई हराएका थिए। त्यसैगरी युवा खेलाडी रिशोन थापाले ललितपुरका राजन पुरीलाई पराजित गर्नु पूर्व पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकारलाई पन्छाएका थिए।
उत्कृष्ट खेल प्रदर्शन गरेका राजेन्द्र चौथो खेलमा झापाका विक्रम जीत लिम्बुसंग बराबरी खेले भने पाँचौ चरणको खेलमा ललितपुरका सुरज महर्जन माथि जित निकाले। काठमाडौंका सिएम नवीन तण्डुकार, सिएम पुरुषोत्तम चौलागाईं , सुमन श्रेष्ठ , खोटाङका धिरेन राई, ज्वाला लिम्बू, राजन कुमार पोखरेल, सुनसरीका हिमाल राई , चुडामणि राई कुलुङ, सुरज राय, मणीराज डाँगी ,राज लिम्बू ,सचिन कुमार चौधरी र किरण लिम्बूले समान ४ अंक जोडेका छन्।
क्लासिकल ९ चरणको स्वीस लीग प्रणाली खेलका विजेताले नगद पुरस्कार ५१ हजार, उपविजेताले ३५ हजार र तेस्रो स्थान रहनेले ३० हजार हात पार्नेछन्। प्रतियोगिताको कूल नगद पुरस्कार ३ लाख ३५ हजार रहेको छ।