मधेस आन्दोलनको कुनै तुक छैन ः ज्वाला

मधेस आन्दोलनको कुनै तुक छैन ः ज्वाला

दाङ, ७ असोज । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा सांसद प्रकाश ज्वालाले मधेसमा जारी आन्दोलनको कुनै तुक नभएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल दाङले आज बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा ज्वालाले मधेसवादी दलहरुले मागबिनाको आन्दोलन गरेको समेत बताउनुभयो । “मधेसवादी दलहरुले उठाएका सबै माग सम्बोधन भइसकेका छन् मागबिनाको हिंसात्मक आन्दोलन गर्नु औचित्यहीन हो”, –ज्वालाले भन्नुभयो ।
त्यसैगरी, उहाँले विदेशीको इसारामा भएको आन्दोलन नटिक्ने पनि बताउनुभयो । उहाँले सीमाङ्कनलगायतका विषय मिलाउन सङ्घीय आयोग गठन भएको भन्दै आयोगले नै सबै मिलाउने बताउनुभयो ।

पत्रकार सम्मेलनमा ज्वालाले संविधानसभाबाट ऐतिहासिक संविधान आएको पनि बताउनुभयो । “संविधान कार्यान्वयनमा केही जटिलता होलान् तर संविधानसभाले ऐतिहासिक संविधान जारी गर्न सफल भएको छ” – ज्वालाले भन्नुभयो ।

त्यसैगरी, उहाँले अब देश समृद्धिको बाटोतर्फ जानेसमेत बताउनुभयो । उहाँले नेपालको आन्तरिक मामिलामा अन्य देशहरुले हस्तक्षेप गर्नु दुर्भाग्य भएको भन्दै यस्तो कार्य बन्द गर्नुपर्ने बताउनुभयो ।

तपाइँको प्रतिक्रिया ।