मोबाइल तरंग : बासुदेव पौडेल (कविता )

मोबाइल तरंग : बासुदेव पौडेल (कविता )

कपन अनलाइन

काठमाण्डौ, बैशाख १३।

खल्ती बास तरङ्ग श्वास यसको आकार पौजाभरी
घण्टी कम्पन सूचना प्रबिधी यो संसार एकै थरी ।
हत्केला घर कान साथ रहने आँखा र औला गरि
बोल्ने गर्दछ साथ आश भरदै जोगाउ साथै धरी ।।

जोड्यो एक बिज्ञान ले सकलमा ब्रह्माण्ड सानो गरि
पुर्बी दर्शन ज्ञान गौरब बने पुर्खा कहानी भनी ।
झिल्को झै झलमल्ल एक छिनमा संचार संसारमा
देखा पर्दछ यो चट्याङ जसरी हौवा जसै भेषमा ।।

पढ्ने तस्बिर बैंक ज्ञान नमुना अन्वेष छायांकन
सारा स्रोत समान एक भबमा चैतन्य जस्तै धन ।
इच्छा पुर्ण कला र मानसिकता खाता असंख्य रह्यो
जाने नोकर यो सचेत मनको अञ्जान मा शून्य भो ।।

जस्ले गर्छ प्रयोग ज्ञान सहजै जित्नेछ संसारमा
धर्ती तेज अकाश वायु जलधी छैठौं भयो तत्वमा ।
दीक्षा गर्छ स्वचाल यन्त्र घटना मान्छे जसै भौतिक
आगामी दिनमा सशक्त उ अझै बन्ने छ स्थापित ।।

यो नौलो उपहार भो जगतमा एकाम्यता ल्याउने
मान्छे एक अनेक भेद नहुने भूगोल एकै हुने ।
पुर्खा मानव तन्त्र मन्त्र भरमा सुन्ने कथा तान्त्रिक
यन्त्रै यन्त्र चलाइ बाँच्न परने मान्छे भयो यान्त्रिक ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।