इँटाभट्टा मजदूरका सन्तानलाई शिक्षामा पहुँच पुर्याउन शैक्षिक क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरुको जोड
कपन अनलाइन
काठमाडौं , चैत २२।
नेपालको राजधानी उपत्यका साथै अन्य शहरी क्षेत्रमा मौसमी रुपमा सञ्चालित इँटाभट्टाहरुमा कार्यरत् मजदूरका सन्तानहरुले आधारभूत नागरिक अधिकार शिक्षा प्राप्तीबाट समेत बञ्चित भैरहनु परेकोमा बौद्धिक तथा शैक्षिक क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरुले दुःख व्यक्त गर्दै उनीहरुलाई उपयुक्त शिक्षामा पहुँच बनाउनु पर्नेमा जोड दिएका छन्।
इँटाभट्टाहरुमा कार्यरत् मजदूरका सन्तानहरुलाई शिक्षा प्रदान गर्दै आएको “कोपिला नेपाः” संस्थाद्वारा शुक्रबार आयोजित गोष्ठीमा त्रिभुवन विश्वविद्यालयका पूर्व उप–कुलपति प्रा. डा. केदारभक्त माथेमाले वर्तमान नेपालमा सबैभन्दा ठूलो समस्या नै असमानता भइरहेको भन्दै आफूलाई समाजवाद उन्मुख सरकार भन्नेहरुले त्यस्ता असमानता हटाउने जिम्मेवारी लिनुपर्नेमा जोड दिए ।
शिक्षा मन्त्रालयका पूर्व अतिरिक्त सचिव डा. केदार नाथ श्रेष्ठको सभापतित्वमा सम्पन्न गोष्ठीमा आयोजक संस्थाका कार्यकारी सल्लाहकार विमल लाल श्रेष्ठले इँटाभट्टामा कार्यरत मजदूरका छोराछोरीहरुले पनि जीवन असुरक्षाबीच इँटा सुकाउने काम गरिरहेको जानकारी गराउँदै विगत २३ वर्षदेखि आफूहरुले त्यस्ता बालबालिकालाई शिक्षा प्रदान गर्दै आएको बताए ।
काठमाडौँ विश्वविद्यालयका अनुसन्धाता आरोग्य दाहालले आफूले गरेको पहिलो चरणको अनुसन्धानको निष्कर्ष प्रस्तुत गर्दै इँटाभट्टामा ८ सय परिवारसम्म बस्ने गरेको, एक जनाले मात्रै विद्यालय शिक्षा पूरा गरेको साथै शीप प्राप्त नभएकाले भौँतारिनु परेको यथार्थ राख्नु भयो। काठमाडोँ विश्वविद्यालय, शिक्षा विभागका प्रा. महेश नाथ पराजुलीले “कोपिला नेपाः” बाट शिक्षामा पछाडि परेका इँटाभट्टाहरुमा कार्यरत् मजदूरका सन्तानहरुलाई शिक्षा प्रदान गरिरहेकोबारे जानकारी गराउनुभएको कार्यक्रममा डा. लवदेव अवस्थी, पत्रकार कुमार रञ्जित देविना प्रधान लगायतले मन्तव्य व्यक्त गरेका थिए ।