अन्तिम उपाय : राजु क्षत्री अपुरो ( लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,चैत १६ ।
अचेल बिर्खेको व्यवहारमा आएको परिवर्तन देखेर सबै अचम्भित र छक्क परेका छन् । नहोउन् पनि कसरी ! स –सानो कुरामा पनि हातपात गर्न तम्सिने ऊ अरुहरू लडाई झगडा गरेको देखेपछि अर्ति उपदेश दिन थालेको छ ।
उसको मुखबाट मीठो र नम्र बोली कहिल्यै सुनिएन । एकलाइनको वाक्य बोल्दा चार पाँच ठाँंउमा अश्लील शब्द प्रयोग गर्ने ऊ अचेल उमेर र दर्जा हेरेर मिठासिलो शब्द प्रयोग गर्न थालेको छ । उमेर र ओहोदा हेरेर आदर र सत्कार गर्न थालेको छ ।
हमेशा झै– झगडा भइरहने भट्टी पसलतिर पनि शान्त छ अचेल ।
आफ्नो घरको चोकको बस बिसौनीमा उसको उपस्थिति देखिदैन् । गँजेडिहरू उसको उपस्थिति नदेखेपछि अर्कै स्थान परिवर्तन गरिसकेका छन् । टोलले पनि अब शान्त र सुरक्षित महशुस गर्न थालेको छ । उसको अनुपस्थितमा जुवाडेहरू पनि तितरबितर भइसकेका छन् ।
टोलका चेलिबेटीहरू पनि निडर र निर्धक्क भएर हिंडडुल गर्न पाएका छन् । बरु अरु कसैले छेडखानी गर्न थालेको थाहा पाए भेटाए मनचलेहरूलाई सम्झाउन थालेको छ उसले । घरमा कामकाजमा हात बाड्न थालेको छ । फुर्सदमा आध्यात्मिक, मनोरञ्जन, सन्देश र शिक्षामुलक पुस्तकहरू पढ्न थालेको छ । मोबाइलमा स्वास्थ्य सम्बन्धि जानकारी, खेलकुद जस्ता कार्यक्रम हेरेर समयको सदुपयोग गर्दै योगा, खेलकुद गतिविधिमा सरिक हुन थालेको छ ।
घर परिवारले अचेल राहतको श्वास लिन थालेका छन् । निकट नातेदारहरू पनि खुशी छन् ।
यो चमत्कार हुनुमा उसको मेडिकल रिपोर्ट थियो । डाक्टरका अनुसार ऊ यो धर्तिमा अब केही महिनाको मात्रै पाहुना थियो ।
तर ऊ अनभिज्ञ थियो । कुनै ठुलो रोगको शिकार नै थिएन ।
यो त केहि वर्ष अघि मात्रै बिहे गरेर भित्र्याएकी श्रीमतिको सुझबुझको कमाल थियो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक