फर्क देशमा : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,फागुन १०।
युवक टाढिँदा, शून्य गाउँ भो
मुलुक खोक्रिँदा, भित्र घाउ भो
प्रगति छैन क्यै, रुन्छु शून्यमा
अब त हे युवा, फर्क देशमा
श्रम विहीन भैे खेत बाँझियो
घर विनाशियो छानु उद्रियो
छ धमिरा ढिकी आँगनी कहाँ ?
हृदयले गुनी, फर्क देशमा
न जननी यहाँ, हाँस्न सक्दछिन्
न त बुबा स्वयं, बोल्न सक्दछन्
सब विजोग नै, देखियो यहाँ –
बरु नहोस् धनै, फर्क देशमा
सकल फुंग छन्, आज गोठ नै
सरस छैन खै ?, आज ओठ नै
कि शिशु वा बुढा, गर्नु के यहाँ ?
अब त भाइ हो, फर्क देशमा
विकल छौँ युवा गैसके सबै
शिखर पिल्पिले भैसके सबै
सकस भो यहाँ, बाँच्न ढुक्कमा
समय गैसक्यो फर्क देशमा ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।