उपहार : लता के. सी. ( लघुकथा)

उपहार : लता के. सी. ( लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,फागुन ८।

आज एकाबिहानै उसको मोबाइलमा म्यासेज आयो, “आजको उपहार के छ ?”
गुलाफको फूल साटेर, एकअर्कालाई प्रस्ताव गरेर बसेको उनीहरूको माया क्रमशः चकलेट, टेड्डी, प्रतिबद्धता, चुम्बन, अङ्गालोमा झाङ्गिएको थियो । म्यासेज हेरेर मुसुमुसु हाँस्दै जवाफ लेख्यो, “सरप्राइज भन्न कहाँ मिल्छ र ?”
भन र नाईँको द्वन्दमा उनीहरू मस्किरहे, ठस्किरहे । आखिर हार खाएर रोमाले च्याटिङ बन्द गरिन् । रोमन पनि केही बेर मौन बस्यो ।
निकै बेरसम्मको पर्खाइमा पनि फेरि म्यासेज, फोन केही आएन । छट्पटिदै ऊ बाहिर निस्कियो । केही किन्यो र उसलाई फोन गरेर बाहिर निस्किन अनुरोध गर्यो ।
उनले भनिन्, “घरमा कोही छैन । बाहिर नगएर यहीँ बसौँ न, हुन्न र ?”
“हुन्छ ।” भन्दै बेपत्ता तालको उ उनको घरतिर हानियो । एकछिनको भलाकुसारीपछि उनले सोधिन्, “खै त मेरो उपहार ?”
उसले भन्यो, “आँखा चिम्म गर त !”
उनले मुस्काउँदै भनिन्, “ल, चिम्म गरेँ ।”
मौका पाएर उसले पकेटमा राखेको एक चिम्टि सिन्दुर र औँठी लगाइदियो । आँखा खोल्न भन्यो । ऐना अगाडि लगेर देखाउँदै भन्यो, “मेरो सरप्राइज गिफ्ट कस्तो लाग्यो ?”
उनले अङ्गालोमा बाँधेर भनिन्, “ह्याप्पी भ्यालेनटाइन डे !”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।