पिरती फुकाई देऊ : त्रिलोचन आचार्य (कविता )

पिरती फुकाई देऊ :  त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,फागुन ३।

१. लेख्नु त थियो कविता मैले तिमीलाई हेरेर
पोखिन पुगे भावना यस्ता पत्रमा कोरेर
आत्माकी हियो, मनकी दीयो, भेटिन्नौ किन हो ?
नदेखी देखेँ, यसरी लेखेँ, लगेर दिन्छ को ?
२. पहाड अग्लो वाधा छ सग्लो, सकेनौँ नाघ्नलाई
इज्जत भनी विद्रोही बनी सकेनौँ भाग्नलाई
मनको भाका मनकै बस्यो ओठमा आएन
नजिक पुगी नियाल्ने धोको सफल भएन
३. मनका भाका लजालु आँखा हेराई घातक
भावका गुच्छा नियाल्ने इच्छा भएन सार्थक
उडाई हावा लगिदे भनेँे बुझेन विचार
कुँडिँदा दिल बसेछ खिल चलेन गुहार
४. मोह र माया, घाम र छाया, भेट पो कहाँ होस्
प्रेमको ऐन, दुर्बल भयो, चाहना के पुगोस्
कल्पनाभित्र भावका चित्र भए दुई किनार
किनेर भए म ल्याइसक्थेँ तिरेर हजार
५. भेटेको बेला, नबोली बस्यौ, बिचैमा हरायौ
कि छैन माया ? भएर पनि कि बोल्न डरायौ ?
स्वर्गकी परी लहर छरी बस्दथ्यौ, कहाँ छौ ?
शब्दका थुँगा, प्रेमकी गंगा, बोल्द्यौ न जहाँ छौ
६. प्रेम दिवस आउँदै छ बस तयार भएर
मनका कुरा बताउ पुरा निर्धक्क गएर
धुक्धुकी दुवै जोडेर एकै आवाज बनाऊँ
भन्ने छ मेरो मनको इच्छा कसरी सुनाऊँ ?
७. न भेट्न सक्छु न छाड्न सक्छु म भएँ अल्मल
हुँदैन कि यो जीवन भरी बिहानी झल्मल
आएर प्यारी ती आँखा भरी यो मन लुकाई देऊ
कि गर माया, कि छैन भन्दै पिरती फुकाईदेऊ
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।