बालमनोविज्ञानको एउटा कथा : सन्तोष कुमार पोखरेल

बालमनोविज्ञानको एउटा कथा : सन्तोष कुमार पोखरेल

कपन अनलाइन

काठमाण्डौ ,माघ २७।

सरू मेरी छोरीको नाम हो। उसको छोरा आदृत तीन बर्ष पूरा गरी अहिले चारमा हिड्दैछ । मेरो नाति आदृत अत्यन्त सुन्दर अनि निर्दोष बालक हो। अझैसम्म उसको तोते बोलीले उसकी हजुर आमा र मलाई मोहित गर्दैछ, मानो उसलाई तोते बोलीले हामीलाई दंङदास पारिराख्न उसका देउताले अह्राएका हुन् । यो नातिले मलाई उतिबेलै आश्चर्यचकित पारेको थियो जतिबेला उ मात्र डेढ बर्षको थियो, र दोहोरो कुरा पनि गर्न जान्दैनथ्यो ।
उ मेरो पलङमा बसेको रहेछ, म कोठामा पसें र नातिले मलाई आफूतिर बोलायो र भन्यो, “बुवाको बाबु, बुवाको नाति ।” मैले सुनेको र उसले बोलेको सम्भवतः यो पहिलो पटक थियो । उ शान्त थियो र बुझक्कड र गम्भीर थियो । म खुसीले गद्गद भएँ। यो शिशुमा दैवले भरिदिएको ज्ञानले मलाई त्यस सत्ताप्रति अझ अनुगृहित तुल्यायो । अहिले त उ तीन पूरा गरी चारमा हिड्दैँछ ।
दुई बर्ष अघिसम्म निकै माया गर्ने उसकी सानीमा जसलाई आदृत सानोमामु भनेर बोलाउँछ, बिहे गरी घर गई अनि केही दिनपछि भिडियो फोन गरी तर बालक बोलेन । मेरी सानु छोरीतिर हेरेन । अनि अस्ति उसकी मामु सरू पनि उच्च शिक्षाका निम्ति बिहानै बेलायत उडी, बच्चा सुतेकै थियो । बच्चा उठेर आफ्नी मामु र हजुरआमा दुबैलाई देखेन । त्यहाँ उसलाई हेर्न भनेर जेठीसासुलाई राखिएको थियो । यता सरूसित हामी दुवै गएका थियौं । मैले उसलाई अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरें र आफू आन्तरीक उडानबाट देशको पूर्वपट्टि लागेंं । उसकी आमा छोरीलाई बेलायत उडाएर घर फर्की। उ आफ्नी हजुरआमालाई आमा भन्छ । आफ्नी मामुलाई नामले पनि बोलाउँछ । आमाको त पुच्छर नै हो उ, एकँछिन् पनि छाड्दैन, अनि आमा पनि नातिबिना रत्तिभर पल पनि बस्न सक्दिन । यिनको मनमुटु एक छ ।
दिन बित्यो साँझ प¥यो उसकी मामु आइन । रात प¥यो, अझ पनि उ आइन । उ मामुसितै सुत्ने बच्चा आज हजुरआमा सित सुतेको थियो । बिहान उठ्ने बित्तिकै हजुरआमालाई मात्र देख्यो । बिहान बिहानै जिस्क्याउन आउने बुवालाई पनि देखेन । हजुरआमाले मास्तल्लामा दुदू खान जाम् भनी नातिलाई हातमा समाएर लान थाली । नाति भन्दै थियो, “मामु पनि आऊ ! बाबु बुबू खान जान्छे ।“
“मामु बाथरुम गाकी छे, ऐले आउछे ।” आमाले बालकलाई ढाटनु परेको थियो । यो ढाँटेको कुरो बच्चाले बुझेको थियो । उसकी मामु माथि आइन, अनि मध्य दिउँसो बेलायतबाट उसको भिडियो फोन आयो । बाबु मामुसित बोलेन । आफ्नै गुडिया र मिसिन सित खेलमा मग्न भयो । साँझमा नातिले आमालाई भनेछ, “आमा तिमी नजाउ है ।”
बालक सब बुझ्न सक्छ । उ नातिलाई अंगालो हालेर रोइछ, “आमा, बाबुलाई छाडेर कतै जान्न ।”
म पनि बाहिर छु ।मलाई पनि यस कुराले भावूक बनायो । हे ईश्वर साना इच्छापूर्तिका निम्ति बच्चालाई आमाको काखबाट टाढा नपार ! अनि देशका नालायक सरकारहरू प्रति रोष पलायो जहाँबाट मेरी छोरी जस्ता धेरै आमाहरू कृतृम भविष्यका लागि आफ्ना कलिला नानी बाबुलाई छाडेर बिदेसिन्छन् । अनि नामर्दकी स्वास्नी हुनू भन्दा मर्दकी दासी हुनू बेस् भन्या जस्तो यो देश कुनै मर्दले लिएर जनतालाई सुख्ख दिए सबैको जय हुन्थ्यो जस्तो भावना आयो ।
पर्सिपल्ट फेरी बेलायतबाट सरूले भिडियो गरिछ । यसपटक छोरो बोलेछ, भनेछ,“सरू के छ खबर ?”
सरू रोइछ, अनि आमा पनि रोइछ । यो एउटा ब्यंग्य थियो बालकको ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।