जाडो : गंगा खड्का ( लघुकथा)

जाडो : गंगा खड्का ( लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,माघ २७।

“हिजोसम्म चिसोले मरिन्छ कि भनेर थरथर काम्नुहुन्थ्यो । आज त छोराले त्यतिका बाक्ला लुगा ल्याइदिनुभएको छ । नलाएर कहाँ राख्नुभयो नि आमाले ?” राधिकाले सासू रामकलालाई भनिन् ।
बुहारीको कुरा सुनेर रामकला मुसुमुसु हाँसिन् मात्र, केही जवाफ दिइनन् ।
“त्यही त, जति बुढाबुढी भयो त्यति छाला पातलो भएर चिसो हुन्छ भन्छन् । मैले ल्याइदिएको बाक्लो ज्याकेट झिकेर लाउनुहोस् न आमा ।”
सुमनले पनि श्रीमतीको कुरामा हो मा है मिलाउँदै रामकलालाई भने ।
“तिमीहरू यो गर त्यो गर भनेर मलाई धेरै सिकाउन नखोज त । हिजोसम्म त मलाई मनको तीतो पोख्ने बाहना चाहिएको थियो र जाडो भयो भन्दै ङ्यारङ्यारङुरङुर गर्थें । अब त मलाई त्यस्तो बाहना नै खोज्नुपरेको छैन त किन जाडो भयो भन्थेँ र ?”
रामकलाको मुखाकृतिमा झल्किरहेको अनौठो आत्मविश्वास देखेर सुमनले बडो जिज्ञासु भावले सोधे, “हजुरले गर्नुभएको कुरा र हाउभाउको आशय मैले केही बुझ्नै सकिनँ नि आमा !”
“हिजोसम्म तँ परदेशमा हुँदा मनमा भएको छटपटीले जाडो भएको बाहनामा निकास खोज्थ्यो । आज तँ आएपछि मनमा आनन्द छाएर माघको मुटु छेड्ने जाडो पनि पहारिलो घामजस्तै न्यानो भएको छ छोरा ।”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।