रक्तरञ्जित दर्पणमा प्रतिविम्व : सक्षम भट्टराई (कविता )

रक्तरञ्जित दर्पणमा प्रतिविम्व : सक्षम भट्टराई (कविता )

कपन अनलाइन

काठमाण्डौ ,माघ २६।

दुर्भाग्य कोरी चर्किएर बसेका रेखाहरु भित्र
न्यायको चित्कार गर्दै बगिरहेको रगत
मैले देखेँ
दर्पणको प्रतिविम्बमा उसैको विम्बलाई नियाल्दा
दर्पणको सत्यता शङ्कास्पद हुँदैन
दर्पणको सत्यता शङ्कास्पद हुँदैन ।

दर्पणमा प्रतिविम्ब त देखिन्छ,
तर अनुहारहरू अस्पष्ट छन् ।
कतै एक सिपाहीको मुस्कान छ,
जो आफ्नो भूमिको खातिर लड्यो ।
कतै एउटी आमाको आँसु छ,
जो प्रतीक्षाको भार बोकेर
मुटु चुँडिँदै बितिन् ।

रेखाहरुको कम्पनमा
प्रतिशोधको ताण्डव नाचिरहेको थियो रगतले
रकतनालि ती रेखाहरुमा अतीतका अमिला प्रतीतले
वर्तमानको गानमा आफ्नै प्रतिविम्ब पायो
देख्यो त्यही
खुशीको मन्थन गर्दै नाचिरहेकी कारिका
रक्त चित्कार दबाउँदै गाईरहेको सारिका ।

सबल भाग रूपी अञ्जित मनुवा दर्पणलाई रक्तरञ्जित पार्दै
सास सुकाउँदै लास लुकाउँदै खोला बगाईरह्यो रगतको
पाप पनि उसका त फगत सुगतको रे
रेखाका धारले अन्यलाई घोची
तीबाट हाँसो र मुस्कान खोसी अघाएको
दर्पणको प्रतिविम्बको विम्बले यही नै देखाएको ।

प्रकाश छर्ने दर्पणमा ज्योतिले स्पर्श गर्दा
छोपिने ती सेता दाग बोल्छन्
ती भन्छन्
‘यो दर्पण,
इतिहासको कैदी हो ।
जहाँ हरेक रेखा संघर्षको कथा हुन्
र हरेक रातो दाग बलिदानको दस्तावेज ।’

अब ती सबल भागले चर्किएको दर्पणको पीडा बुझेर
भर्नुपर्छ ती रेखाहरु
पुस्नुपर्छ रगतको दाग
भेट्नुपर्छ कल्पित सुनौलो भविष्यलाई ।

मेरो एउटा छोटो अनुरोध
बरु दह्रो पार्नु ती लुला खुस्कानलाई
तर फर्काइदिनु है ती लुच्छिएका मुस्कानलाई ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।