के छैन नेपालमा ? त्रिलोचन आचार्य
कपन अनलाइन
काठमाण्डौ ,माघ १९।
१. छानो श्वेत हिमालको छ गतिलो नेपाल मेरो घर
आमाको छु म काखमा हर पला लाग्दैन केही डर
मेची कल्कल बग्छ पूर्वतिरको किल्ला म भन्दै जहाँ
काली पश्चिम साँधमा छ बलियोे, के छैन नेपालमा ?
२. अग्लो विश्व समस्तको सगरको माथा छ छातीतिर
ठूला भारत चीन छन् निकटमा साथी सधैँका भर
झर्ना ताल नदी र स्वच्छ छहरा हाँस्दै रहन्छन् जहाँ
छन् मैदान र फाँट उर्बर यहीँ, के छैन नेपालमा ?
३. छन् बाटा ऋषि वा महर्षि गणका विज्ञानका ज्ञानका
छन् संस्कार सुसभ्यता विगतका सम्मानका मानका
छन् आस्था मनमा समस्त जनमा कैलाशका काखमा
गोर्खाली बल जोश जाँगर छ यैँ, के छैन नेपालमा ?
४. तन्नेरी मन छन् अनेक पसिना पोख्ने गह्रा फाँटमा
पाखा पर्वत छन् प्रफुल्लित बनी नाच्ने सधैँ ठाँटमा
खुल्दै फुल्छ गुराँस सुन्दर खुली डुल्दैछ डाँफे जहाँ
छाती नित्य सुरम्य रम्य जनको, के छैन नेपालमा ?
५. वर्षा डुल्छ दिँदै दिँदै जलघडा खुल्छन् असारे दिन
चोखो कान्ति दिँदैछ यैँ शरदले डुल्छन् खुली साउन
नौला पल्लव पालुवा चहकिला छन् चैत्र बैशाखमा
के हेप्छौ दुनियाँ गरीब छ भनी, के छैन नेपालमा ?
६. पुर्खाका बलले सुरक्षित रह्यो स्वातन्त्रता शानको
चम्के बुध्द बनी पवित्र बुझ यैँे बाटो छ सिध्दार्थको
आमा दीप जगाउँछिन् हृदयको आस्था भरी साँझमा
चोखो संस्कृतिको मुहान छ यहीँ, के छैन नेपालमा ?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।