क्रिप्टो कारोबार र ठगी गर्ने ७ पक्राउ,बुढानिलकण्ठ-८ का माइकल मास्टर एजेन्ट
कपन अनलाइन
काठमाण्डौ ,माघ १८।
नेपाल प्रहरीले संगठित रूपमा क्रिप्टो करेन्सीको कारोबार गर्ने र ठगी गर्ने समूहका सात जनालाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले यसमा संलग्न सात जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी सुधिरराज शाहीले जानकारी दिए।
यस करिवर र ठगीमा कैलाली बर्दगोरिया गाउँपालिका-६ घर भई बुढानीलकण्ठ नगरपालिका-८ गैरीगाउँ बस्ने २२ वर्षीय माइकल डंगौरा मास्टर एजेन्ट रहेको एसपी शाहीले बताए।
माइकल संगै बर्दगोरियाकै २६ वर्षीय अनिल विश्वकर्मा, बुढानीलकण्ठ बस्ने २१ वर्षीय पियुष श्रेष्ठ, कागेश्वरी मनोहरा बस्ने १९ वर्षीय आश्विन चौलागाईं, बानेश्वर बस्ने २२ वर्षीय सत्यमकुमार सहनी, भारत घर भई काठमाडौं बस्ने २७ वर्षीय रोशन कुमार र भारतकै ३६ वर्षीय मुन्ना कुमार पक्राउ परेका हुन्।
उनीहरूले नेपालमा संगठित रूपमै क्रिप्टोको कारोबार र अनलाइन ठगी सञ्चालन गरिरहेको प्रहरीले जनाएको छ।प्रहरीले उनीहरूबाट दुई वटा सुपर कम्प्युटर, १३ वटा मोबाइल फोन, १९ वटा चेक र साढे ५ लाख नगद बरामद गरेको छ।
उनीहरूले बैंक तथा वालेटहरूको आधिकारिक व्यक्ति भनेर ओटिपी/पिन मागेर अनधिकृत रूपमा पहुँच पुर्याउँदै ह्वाट्स एप, टेलिग्राम, फेसबुकहरूमा अनलाइन जब, घरैमा बसेर धेरै रकम कमाउन सकिने, अनलाइन जुवा आदिको आकर्षक विज्ञापन राखेर लिंक पठाउने गरेका थिए।
सिआइबीले गरेको डिजिटल फरेन्सिक रिपोर्टमा मात्रै यो समूहले यसरी तीन अर्बभन्दा बढी ठगी गरेको देखिएकोले यस समूहमाथि थप अनुसन्धान अघि बढाएको छ।