नेपाल भ्रमणका लागि सुरक्षित रहेको सन्देश

नेपाल भ्रमणका लागि सुरक्षित रहेको सन्देश

काठमाडौँ, १८ भदौ । मलेसियाका लागि नेपाली राजदूत डा निरञ्जनमान बस्नेतले भूकम्पपछिको नेपालको पर्यटन पहिलाकै अवस्थामा फर्किसकेकाले भ्रमणका लागि सुरक्षित रहेको बताउनुभएको छ ।

राजधानी क्वालालम्पुरमा बिहीबार राति सम्पन्न ‘नेपाल नाइट २०१५’ मा सहभागिता जनाउँदै राजदूत बस्नेतले भूकम्पको विषयलाई लिएर अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रचारप्रसार गरेजस्तो क्षति नभएकाले ढुक्क भएर भ्रमणमा जान पर्यटकलाई आग्रह गर्नुभयो ।

उहाँले नेपालका ९० प्रतिशत भाग सुरक्षित भएको र काठमाडौँका केही सम्पदामा क्षति भएको विषयलाई लिएर नकारात्मक प्रचारप्रसार भएको बताउँदै धार्मिक पर्यटन प्रवद्र्धनका लागि सरोकारवाला निकायले विशेष कार्यक्रम ल्याइनुपर्ने खाँचो औँल्याउनुभयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सञ्चालक समितिका सदस्य एवम् राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निर्देशक टीकाराम अधिकारीले नेपालको गन्तव्य मलेसियाका नागरिकलाई भ्रमणयोग्य रहेको बताउँदै यस किसिमको कार्यक्रमले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मलेसियाका पर्यटकलाई नेपाल भ्रमणका लागि लक्षित गरी आयोजना गरिएको कार्यक्रममा नेपाल प्रवद्र्धन गर्न चाहने ‘टुर अपरेटर’ले उपस्थिति जनाउनुका साथै पर्यटनका सम्बन्धमा जिज्ञासा राखेका थिए ।

नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्ट्सकी सहकोषाध्यक्ष एवम् कार्यक्रम संयोजक जीस्वान तुलाधरले नेपाल भ्रमणका लागि निमन्त्रणा दिँदै पर्यटन प्रवद्र्धनका लागि माट्टा मेला उपयोगी हुने बताउनुभयो ।

नेपाल पर्यटन प्रवद्र्धन गर्न चाहने मलेसियामा सफुआन ट्राभल एन्ड होलिडेजका सञ्चालक अजिजी बोरहानले निकट भविष्यमा नेपालमा पर्यटक पठाउने तयारी गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका तर्फबाट नेपालको पर्यटनका विविध पक्षलाई समेटेर तयार पारिएको वृत्तचित्र प्रस्तुत गरिएको सहभागी पत्रकार दिवस पोखरेलले जानकारी दिनुभयो ।

तपाइँको प्रतिक्रिया ।