जलेश्वरको अवस्था तनावग्रस्त, बिहानैदेखि दोहोरो झडप सुरु

जलेश्वर, १७ भदौ । बुधबार राति ८ बजेसम्म महोत्तरीको सदरमुकाम जलेश्वरमा आन्दोलनकारी र प्रहरीबीच भएको दोहोरो झडपमा १० जनाभन्दा बढी सर्वसाधारण घाइते भएपछि आज बिहानैदेखि जलेश्वरको अवस्था तनावग्रस्त बनेको छ ।

सोही क्रममा आन्दोलनकारीले आज बिहानैदेखि प्रहरीसँग दोहोरो झडप सुरु गरेका छन् । प्रदर्शनकारीले आज बिहानैदेखि जलेश्वरको सिनेमाहल चोकमा टायर बालेर प्रहरीसँग झडप सुरु गरेका छन् भने जलेश्वरको दुर्गाचोक, शङ्कर चोक र नगरपालिका चोकमा पनि स्थानीयले प्रहरीलाई घेरा हालेर झडपको स्थिति सिर्जना गरेका छन् ।

प्रादेशिक सीमाङ्कनविरुद्ध विगत २० दिनदेखि महोत्तरीलगायत सम्पूर्ण मधेस अनिश्चितकालीन बन्दको घोषणा गर्दै आन्दोलनमा उत्रेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता आज बिहानैदेखि जलेश्वरको दुर्गाचोक, बुद्धिजीवी चोक, अस्पताल चोक, र शङ्कर चोकमा पनि सयौँको सङ्ख्यामा जम्मा भएर प्रहरीलाई चेतावनी दिइरहेका छन् ।

बुधबार राति झडपमा प्रहरीको कुटाइबाट सिनेमाहल चोकमा करिब एक दर्जन आन्दोलनकारी घाइते भएका छन् भने एक जना प्रहरी पनि घाइते भएका छन् ।

प्रहरीले बुधबार राति करिब १५ राउन्ड अश्रुग्यास र पाँच राउन्ड रबरको गोली प्रहार गरी आन्दोलनकारीलाई घाइते बनाएका थिए भने आन्दोलनकारीले ढुङ्गामुढा प्रहार गरी प्रहरीलाई पनि घाइते बनाएका थिए ।

विगत २० दिनदेखि जारी अनिश्चितकालीन मधेस बन्दको कारण महोत्तरीको जनजीवन अत्यन्तै कष्टकर बनेको छ । महोत्तरीमा बन्दको कारण दैनिक उपभोगका खाद्यवस्तु, पेट्रोलियम पदार्थ र औषधि अभावसमेत सिर्जना भएको छ ।

जिल्लामा छोटो तथा लामो दूरीका सवारीसाधन पूर्णरुपमा ठप्प रहेका छन् भने जिल्लाका हाटबजार, कलकारखाना, उद्योगधन्दा, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी कार्यालय सबै प्रभावित भएका छन् ।

तपाइँको प्रतिक्रिया ।