‘संघर्ष’ सदन र सडक दुबै मोर्चामा रहने : विजय गच्छदार
भाद्र १६, २०७२- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले तीन दललाई मिलाएर संघीय लोकतान्त्रिक मोर्चाको गठन गरेका छन् । उक्त मोर्चामा शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस सदभावना पार्टी र राजकिशोर यादवको फोरम गणतान्त्रिक जोडिएको छ ।
विजय गच्छदार
तीन दलका नेताहरुले बुधबार सिंहदरवारमा फोरम लोकतान्त्रिकको संसदीय दलको कार्यालयमा मोर्चाको घोषणा गरेका हुन् । तीनै जना नेताले संविधानको विधेयक संशोधनको अवधि भाद्र १९ गते भित्र ठूला तीन दलले आफूहरुको माग नसुने संविधानको सम्पूर्ण प्रक्रिया छाडेर बाहिरिने चेतावनी दिए । संविधानसभामा फोरम लोकतान्त्रिकका १४, रामसपाका ३ र फोरम गणतान्त्रिकका १ जना सभासद छन् ।
‘हामी अहिलेसम्म संविधानसभाको प्रक्रियामा छौं,’ गच्छदारले भने- ‘तर तीन दलले हाम्रो मुद्दा नसुने संविधानबाट बाहरिहन्छौ ।’ उनले कांग्रेस, एमाले र एमाओवादीलाई कुनैपनि हालतमा ८ प्रदेशको संरचनामा ल्याउन बाध्य गराउने गच्छदारले उल्लेख गरे । उनले समान उद्देश्य भएका पार्टीहरु बिच मोर्चाबन्दी गरिएको बताए ।
रामसपा अध्यक्ष भण्डारीले सरकारले मधेशमा आतंकवादी गतिविधि गरिरहको आरोप लगाउँदै केही जिम्मेवार नेताहरुको धम्भपूर्ण अभिव्यक्तिले वार्ताको वातावरण बिथोलेको बताए ।
गणतन्त्रिकका अध्यक्ष यादवले आफूहरुको शालिनतालाई गम्भीरता पूर्वक नलिए संविधानसभाबाट बाहिरिने चेतावनी दिए । उनले आफूहरुको संघर्ष सदन र सडक दुबै मोर्चामा रहने बताए ।