ब्याडमिन्टनको ओलम्पिक सोलिडारिटी कोचिङ कोर्स हुने

ब्याडमिन्टनको ओलम्पिक सोलिडारिटी कोचिङ कोर्स हुने

कपन अनलाइन
काठमाडौं, कात्तिक ७।
नेपाल ब्याडमिन्टन संघको आयोजनामा ब्याडमिन्टनको ओलम्पिक सोलिडारिटी कोचिङ कोर्स हुने भएको छ ।
संघले मंगलबार पत्रकार सम्मेलन गर्दै अक्टोबर २५ देखि नोभेम्बर ९ सम्म बिडब्लुएफ लेभल वान र लेभल टु कोचिङ कोर्स हुन लागेको जानकारी गरायो ।
डल्लु आवास क्षेत्रमा रहेको एनओसी अर्थक्वेक मेमोरियल कभर्डहलमा हुने कोचिङ कोर्स अन्तर्गत लेभल टु मा १४ र लेभल वानमा २० कोच सहभागी हुने ब्याडमिन्टन संघले जनाएको छ ।
लेभल टु कोचिङ कोर्स अक्टोबर २५ देखि नोभेम्बर १ सम्म (कात्तिक ९–१४) हुनेछ भने त्यसपछि लेभल वान कोर्स नोभेम्बर ९ देखि १४ सम्म (कात्तिक १९–२४) सञ्चालन हुनेछ ।
चेक रिपब्लिककी मार्केटा, बंगलादेशकी निखिल चान्द्रधार र भुटानका दोर्जीले कोचिङ कोर्स सञ्चालन गर्नेछन् । दुवै लेभलमा ३० प्रतिशत महिला प्रशिक्षक अनिवार्य सहभागी हुनेपर्ने संघका अध्यक्ष राजमीबहादुर श्रेष्ठले बताए ।
नेपालमा पहिलो पटक ब्याडमिन्टनको लेभल टु कोचिङ कोर्स हुन लागेको छ । ‘यसअघि लेभल टु कोर्स गर्न मलेसियामा जानुपथ्र्याे । हामीले पहिलो पटक लेभ टु कोचिङ कोर्स पनि नेपालमै गर्न लागेका छौँ । यस कोर्सले नेपाली ब्याडमिन्टन प्रशिक्षकको वृद्धि विकासमा सहयोग पुग्ने अपेक्षा छ ।’ संघका अध्यक्ष श्रेष्ठले भने ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सुरु गरेको ओलम्पिक सोलिडारिटी कोर्सले विकाशील राष्ट्रका खेलाडी र खेलको विकासका लागि सहयोग गर्ने गर्छ ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमार्फत नेपाल ओलम्पिक कमिटीका लागि ओलम्पिक सोलिडारिटी कोर्स गर्न फण्ड आउने गर्छ । त्यसै अन्तर्गत ब्याडिमन्टनको ओलम्पिक सोलिडारिटी कोर्स हुन लागेको हो । यस कोर्स सञ्चालन गर्न ओलम्पिक कमिटीले ब्याडमिन्टन संघलाई ८ हजार अमेरिकी डलर प्रदान गर्ने ओलम्पिक कमिटीका उपाध्यक्ष तथा निर्देशक चतुरानन्द राजवैद्यले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।