अशान्त मन : त्रिलोचन आचार्य (कविता )

अशान्त मन : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असोज २०।
१. सविता रमिता कति हेर्नु अहो
मन ढाडसले कति बेर्नु अहो
अब आउनु है घर गर्छु भनी
बस तोटकमा अब शान्त बनी ।
२. रसिला उपमा अनुप्रास छरी
लयमा उठ है जय गान गरी
जति छन्द कुँदे पनि के छ भनी
बस तोटकमा अब शान्त बनी ।
३. बलमा जलमा भलमा दगुरी
कति प्राण लग्यो छल तीब्र परी
किन कुद्नु जता पनि क्लान्त बनी
बस तोटकमा अब शान्त बनी ।
४. जननी नरही शिशु रुन्छ कतै
गहका जलले मुटु धुन्छ कतै
मन भाव भए छ सफा रजनी
बस तोटकमा अब शान्त बनी ।
५. धनले मनमा सुख भर्छ कहाँ
बलले बलियो भर दिन्छ कहाँ
किन गर्दछ चित्त अधीर हुने
बस तोटकमा अब शान्त बनी ।
६. धरती भर छन् दुनियाँ गुटमा
सब अस्त र व्यस्त छ रे लुटमा
खुस छैन कठै धन मात्र गनी
बस तोटकमा अब शान्त बनी ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।