मोर्चाका कार्यकर्ताले नेपाली कांग्रेस महोत्तरीको जिल्ला पार्टी कार्यालय तोडफोड र आगजनी

गौशाला, १५ भदौ । प्रदेश सीमांकनको विरोधमा अनिश्चितकालीन तराई/मधेसका जिल्ला बन्द आह्वान गरेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज नेपाली कांग्रेस महोत्तरीको जिल्ला पार्टी कार्यालय तोडफोड र आगजनी गरेका छन् ।

बिहानैदेखि आन्दोलनमा रहेका मोर्चाका कार्यकर्ताले नाराजुलुस गर्दै जिल्ला सदरमुकाम जलेश्वरको खैराचोकमा अवस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा गएर तोडफोड र आगजनी गरेका हुन् ।

mahottari-by-janakpur-times-890x395_c

मोर्चाका कार्यकर्ताले सो पार्टी कार्यालयको एउटा कोठाको ढोका फुटाएर त्यसभित्र रहेका टेबुल, कुर्सी, कागजात र ग्यास सिलिन्डरलगायतका सामग्री नष्ट गरेका छन् ।

त्यसैगरी, सो पार्टी कार्यालयका शौचालयमा पनि पूर्णरुपमा क्षति पुर्‍याएका छन् । यता जिल्ला निर्वाचन कार्यालयका बोर्ड पनि उनीहरुले उखेलेर तोडफोड गरी फालेका छन् ।

सरकारको नेतृत्व गरेको दल भएर पनि आफूहरुको मागलाई बेवास्ता गरेको भन्दै उनीहरुले कांग्रेस कार्यालयमा ढुंगामुढा प्रहार गरी पेट्रोल छर्केर आगो लगाएका थिए ।

मोर्चाका कार्यकर्ताहरुले खैराचोकमा भारतीय सीमाबाट आउने गाडीहरुलाई अवरोधसमेत पुर्‍याएका छन् । उनीहरुले गाडी तोडफोडको प्रयास समेत गरेको प्रहरीले जनाएको छ ।

अहिले महोत्तरी सदरमुकाम जलेश्वर क्षेत्र तनावग्रस्त छ । बजार र यातायात पूर्ण रुपमा बन्द छन् ।

तस्बिर : जनकपुर टाइम्स

तपाइँको प्रतिक्रिया ।