सुजेन्द्र स्मृति भेट्रान चेस सुरु

सुजेन्द्र स्मृति भेट्रान चेस सुरु

कपन अनलाइन
काठमाडौं, असोज १०।
अखिल नेपाल बुद्धीचाल संघको आयोजनामा प्रथम एफएम सुजेन्द्र प्रसाद श्रेष्ठ स्मृती राष्ट्रिय भेट्रान चेस च्याम्पियनसिप बुधबार सुरु भयो । प्रतियोगिताको प्रमुख अतिथी  नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन  गरे । कार्यक्रममा अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष तथा राखेपका पूर्व उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका पूर्व सदस्य–सचिव एवं नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र समाजसेवी शावित्री अधिकारीको पनि उपस्थिती थियो । अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष तथा नेपाल उसु संघका महासचिव नवराज ढुंगानाका साथमा नेपाल बुद्धीचाल संघका सचिव मोनालिसा खुम्बूको उपस्थिती थियो । नेपाल बुद्धीचाल संघका वरिष्ठ उपाध्यक्ष तथा अखिल नेपाल बुद्धीचाल संघका संयोजक दिपेन राईको सभापतित्वमा कार्यक्रम भएको थियो । कार्यक्रमको सञ्चालन आयोजक कमिटीका सदस्य तथा नेपाल बुद्धीचाल संघका सदस्य बबी देवल पुनले गरेका थिए । प्रतियोगिताको मुख्य निर्णायक अन्तराष्ट्रिय आर्बीटर ज्ञानेन्द्र खाइजु छन्् ।
स्विस लिग प्रणालीमा २ दिन सञ्चालन हुने प्रतियोगितामा ४२ जनाको सहभागिता छ । प्रतियोगितामा पूर्व राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपाली, नबिन तण्डुकार र पून्यमान कमाचार्य पनि सहभागि छन् ।
प्रादेशीक छनोटमा सफलता पाउने खेलाडीको राष्ट्रिय च्याम्पियनसिपमा सहभागिता छ । एफएम सुजेन्द्र प्रसाद श्रेष्ठ  नेपाल बुद्धीचाल संघका पूर्व उपाध्यक्ष हुन् । उनकै प्रयासमा नेपालमा पहिलो पटक फिडे रेटिङ प्रतियोगिता भएको थियो । नेपालको पायनियर चेस क्लब मखन चेस क्लबको विकासमा ठूलो भुमिका रहेका श्रेष्ठ ओलम्पियाड खेलाडी समेत हुन् ।
नेपाली चेसलाई नयाँ स्वरुप र सरचनामा परिणात गर्ने सोच भएका उनकै पहलमा मखनमा चेस एकेडेमी पनि सञ्चालन भएको थियो । सोही एकेडेमीमा प्रशिक्षण गरेकी तारा घले नेपालको पूर्व महिला राष्ट्रिय च्याम्पियन समेत हुन् । नेपालमा भएको पहिलो राष्ट्रिय टिम च्याम्पियनसिपमा सुजेन्द्र सहितको मखन चेस क्लब पहिलो भएको थियो भने उनी आफ्नो बोर्डका उत्कृष्ट खेलाडी घोषित भएका थिए । सुजेन्द्रको गत वर्ष निधन भएको हो ।
३ चरणको समाप्तीमा विलम लाल श्रेष्ठ, पुन्यमान कमाचार्य र पूर्ण राज खड्काले शतप्रतिसत अंक जोडेका छन् ।

तपाइँको प्रतिक्रिया ।