कलाको खजाना : गङ्गा आचार्य सापकोटा

कलाको खजाना : गङ्गा आचार्य सापकोटा

कपन अनलाइन

काठमाण्डौ ,असोज ५।

उमारेर आशा निराशा भगाऊँ
सदा आत्मविश्वास आस्था जगाऊँ
उखेलूँ म अल्छीपनाको बहाना
म भित्रै छ बाँच्ने कलाको खजाना ।।१।।

समस्या छिचोल्दै समाधान खोजूँ
भए मार्गमा विघ्न बाधा म तोडूँ
हुँदा सोच ऊर्जा दिनेमात्र नाना
म भित्रै छ बाँच्ने कलाको खजाना ।।२।।

ममा खोट छन् जे निकालेर फाल्छु
इबी लोभ ईर्ष्या सबै ती पखाल्छु
छिपेका सयौं छन् सदाचार पाना
म भित्रै छ बाँच्ने कलाको खजाना ।।३।।

सधैँ चित्तलाई बनाई बिमारी
बुझूँ मिल्छ के नै यहाँ आँसु झारी
म रम्नेछु खोज्दै खुसीका तराना
म भित्रै छ बाँच्ने कलाको खजाना ।।४।।

बितेका कुराबाट शिक्षा लिएर
हटाई अभीप्सा र लिप्सा विकार
म रच्नेछु सत्कीर्तिका दिव्य गाना
म भित्रै छ बाँच्ने कलाको खजाना ।।५।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।