शङ्का तँ गर्छस् द्विविधा : त्रिलोचन आचार्य (कविता )

शङ्का तँ गर्छस् द्विविधा : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन
काठमाडौं, भदौ २९।

यो रातकै हो अभियान कालो
त्यो शान कालो अनि ज्यान कालो
बाटो अँध्यारो भय छन् हजार
फर्केर यै आउँछ बारबार ।

राम्रो भन्यो त्यै हुनपुग्छ कालो
फाट्यो भन्यो बादल जम्छ जालो
रोकेर के द्वन्द्व ? विकार गल्छ ?
अर्को महाभारत चल्छ चल्छ ।

जो छन् भन्यौ नित्य सफेद, हैनन्
जो श्रेष्ठ ठान्यौँ तर ती रहेनन्
सोझा बनेनन् परसम्म बाटा
नाफा लियो लक्ष्य, परन्तु घाटा ।

ठान्यो उकालो अब सक्किनेछ
यो मत्स्यन्यायै पनि रोक्किनेछ
झन् युद्धले डाक्दछ फेरि युद्ध
जन्मन्न शङ्का भयबाट बुद्ध ।

सङ्घर्ष मान्छे बिचमै छ आज
आक्रोस मान्छेसित नै छ आज
जन्मेछ कैले गजधुम्म शङ्का
डढ्दै छ भित्रैतक रम्य लङ्का ।

आफ्नातिरै छन् कि कुनै पराई
को टेक्न सक्ला र अहो उचाई
भन्दैछ रोई पसिना छु व्यर्थै
शङ्का तँ गर्छस् द्विविधा अनर्थै ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।