आत्मा : त्रिलोचन आचार्य (कविता )

आत्मा : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाडौं, भदौ २२।
१. आत्मा ! बसेको छ सुटुक्कभित्र
देख्नै नमिल्ने कहिल्यै विचित्र
फुर्ती गरोस् के ? म भनी शरीर
हिँड्दै छ आफैँ अगुवा बनेर
२. मान्छे भनून् मै छु नि सर्बश्रेष्ठ
राखून् थुपारून् धन नै यथेष्ट
सत्ता सँगालून् र भरून् भकारी
आत्माविना त्यो सब हुन्छ भारी
३. आत्मा रमाएपछि खुल्छ बान्की
आत्मा सजाएपछि हुन्छ शान्ति
आत्मा नहाँसे जग चम्किँदैन
आत्मा नबाँचीकन बाँचिँदैन
४. मान्छे स्वयंका सय लक्ष्य हुन्छन्
आँखा उसैका अति दक्ष हुन्छन्
राम्रो नराम्रो कुन हो जगत् मा
जान्ने र छान्ने सब हुन्छ आत्मा
५. छाती उज्यालो छ सबै उज्यालो
छाती अँध्यारो सब विश्व कालो
आशा यसैले त जगाइदिन्छ
आत्मा चढी देह, रमाइदिन्छ
६. माया अनेकौँ दिलमा उमारी
आँखा खुलेका मनका उघारी
आस्थाविना भव्य हुँदैन धाम
आत्माविना पूर्ण हुँदैन काम
७. आस्था नजागेपछि राग जाग्छ
माटो भुलेका क्षण दाग लाग्छ
टेक्दा अनेकौँ चुचुरा छ सान
आत्मा रमाए छ सफा मुहान
८. यो सिर्जना यो कसले सजायो ?
विश्वास फुल्ने कसले गरायो ?
हुन् वृद्ध बाला अथवा जवानी
खुल्नेछ आत्मासँग जिन्दगानी ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।