खै त ढोका खुलेको : त्रिलोचन आचार्य (कविता )

खै त ढोका खुलेको : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ,भाद्र १५ ।
१. छेक्छन् सारा अवसरहरू ठालु सामन्तले नै
बाँड्छन् सारा सुख र सुविधा नित्य आफन्तमा नै
रोक्छन् बन्दै अजङ पहरा कान्ति शोभा झुलेको
भन्दै आयौ अघि तर अझै खै त ढोका खुलेको ?
२. धेरै धेरै पटक मतको दानमा हेर्न खोजेँ
नाच्यौ धेरै पटक पदमा मानमा हेर्न खोजेँ
बाँध्दै ल्यायो कस सकसले द्वैष मात्रै घुलेको
खुल्छन् भन्थ्यौँ दिन सकलका, खै त ढोका खुलेको ?
३. पुर्छौँ भन्थ्यौ सब विषमता भेदमा पारिँदैछन्
फेर्छौँ भन्थ्यौ चलन ममता निर्मला मारिँदैछन्
हेर्ने होला भनन कहिले फूल चोखा फुलेको ?
प्यारो छोरा भनन घरको, खै त ढोका खुलेको ?
४. राजा फालेपछि सब कुरा मिल्छ भन्थ्यौ, मिलेन
तन्त्रै ढालेपछि दिन नयाँ हुन्छ भन्थ्यौ, भएन
सत्ता टेकेपछि फरक क्यै हुन्छ भन्थ्यौँ भुलेको ?
भेट्छौँ भन्थ्यौ गति प्रगतिको, खै त ढोका खुलेको ?
५. जैल्यै मेरो घर छ रिनमा बन्नुपर्ने बजेट
ढोकैपिच्छे रहर कुन हो छाप्नुपर्ने गजेट
भन्थ्यौ गर्छौँ सकल समता फाल्न पाए मुले यो
पा¥यौ टुक्रा जमिन घरको, खै त ढोका खुलेको ?
६. पालै पालो लुटुपुटु गरे पल्किए खान भन्छन्
के भन्दैछन् तल नसुनिने बन्द छन् कान भन्छन्
कैले बन्ने सबल बिचरा ज्यान जाला लुलेको
टेक्छौँ चाँडै शिखर भनियो, छैन बाटो खुलेको ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।