दाङ दङ्गाग्रस्त क्षेत्र घोषित

७ भदौ । दाङलाई आज साँझ ८ बजेदेखि दङ्गाग्रस्त जिल्ला घोषणा गरिएको छ ।
केहीबेरअघि बसेको सुरक्षा समितिको बैठकले आजदेखि यही भदौ २२ गतेसम्मका लागि जिल्लालाई दङ्गाग्रस्त जिल्ला घोषणा गरेको प्रजिअ लोकनाथ पौडेलले बताउनुभयो ।
उहाँका अनुसार दङ्गाग्रस्त क्षेत्रमा पूर्वमा रामपुर गाविस भवनदेखि पश्चिमतर्फ घोराही नगरपालिकासँग जोडिएको लक्ष्मीपुर गाविस, घोराही नगरपालिका र सोको एक किमी आसपासका क्षेत्र, तुलसीपुर नगरपालिका र सोको एक किमी आसपासका क्षेत्र तथा घोराही–तुलसीपुर सडक खण्डबीचको क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको हो ।
त्यसैगरी लमही नगरपालिका, पूर्वपश्चिम राजमार्गअन्र्तगत अमेलियादेखि धानखोलासम्म र गढवा बजारको मूलचोकलाई आधार मानी त्यसको एक किमी वरपरको क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको छ ।
दङ्गाग्रस्त क्षेत्रमा कुनै प्रकारको भेला, जुलुस, सभा बैठक, प्रदर्शन, पोस्टर, पर्चा लेख्न वा टाँस्न निषेध गरिएको छ । निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड गर्ने तथा हिंसात्मक वा विध्वंसात्मक कार्य गरेको देख्नेबित्तिकै सुरक्षाकर्मीले गोली प्रहार गर्न सक्नेछ । रासस

तपाइँको प्रतिक्रिया ।