भारी : कुमुदप्रसाद शर्मा (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,असार २२।
‘ल, हेर ! तपाईँको पनि गर्दन, घुँडा र कुमको जोर्नीहरूमा बेस्सरी दखल परेको रहेछ ।’ देवीसराको एक्सरे रिपोर्ट हेरिसकेपछि डाक्टरले भने ।
उनको भनाइ सुनेर देवीसरा रनभुल्लमा परिन् ।
‘कहिलेदेखि दुख्न थालेको ?’ डाक्टरले सोधे ।
निकैबेर सोचमग्न भएपछि उनले भनिन्, ‘एकाउन्न सालको सुरुबाट ।’
‘अनि कामचाहिँ के गर्नुहुन्छ नि ?’ डाक्टरले प्रश्नमाथि प्रश्न तेर्स्याए ।
‘गृहस्थी ।’ उनले फटाफट जवाफ दिइन् ।
डाक्टर बिरामीको पुर्जामा केही लेख्न तल्लीन थिए । उनले मलिन स्वरमा भनिन्, ‘डाक्टरसाहेब ! एउटा सानो कुरा सोध्नु थियोे ।’
‘आच्चे…! भन्नुस् न भन्नुस् ।’ उनले भने ।
‘के कारणले पर्छ, होला हजुर, यसरी जोर्नीमा दखल ?’ देवीसराले सोधिन् ।
‘धेरै गह्रौं चिज उठायो भने । अब तपाईंले गह्रौं भारी बोक्न हुँदै हुँदैन ।’ चिकित्सकले भने ।
उनले निकै भावुक भएर भनिन्, ‘हस् हजुर । उठाउँदिन अब–देखि ।’
यति भनेर ढोकासम्म पुगिसकेकी उनी फर्केर डाक्टर सामु पुगिन् र भनिन्, ‘अर्को एउटा कुरा पनि नसोधी नहुने भयो हजुर !’
‘भन्नुस् ! के हो, त्यस्तो नसोधी नहुने कुरा ?’ डाक्टरले मुस्कुराउँदै भने ।
डाक्टरको त्यति ओट पाएपछि उनले मायालाग्दो गरी भनिन्, ‘अरू त ठिकै छ । तर यी पूर्वजन्मका साहूहरूले सबै नेपालीहरूको थाप्लोमा लगाइदिएको ऋणको भारी म चाहिँ बोक्दिनँ भनेर धर पाइएला त हजुर ?’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।