प्यारो आषाढ :त्रिलोचन आचार्य (कविता )

प्यारो आषाढ :त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ,असार १५।

प्यारो आषाढ हेर्दैछ मेघका साथमा रमी
थाले किसानले काम सङ्केत नभको गमी
पाखा लाग्यो पुग्यो भन्दै जेठको रूप रौनक
रङ्गिन जग यो गर्न लालुपाते छ ढक्मक ।

धर्ती हो सिर्जना स्वर्ग रोपौँ मुरी फलाउँन
बस्यो आषाढ पर्खेर लहरा सल्बलाउँन
उठे जाग्नु प¥यो भन्दै सुकेका पथका कुवा
रुपौला बैँश पाएर मख्ख छन् वन पालुवा

फेरि तङ्ग्रिन खोज्दैछन् बिचरा खहरेहरू
फेरि उभ्भिन खोज्दैछन् लत्रेका लहरा तरू
फेर्यो राहतको श्वास तराई फाँटले पनि
भोटो समयले फे¥यो र छ¥यो दिव्य रोशनी

वर्षाको गरिमा जाग्यो चिल्लापात सजाउँदा
खेतीको महिमा जाग्यो हल गोरू कुदाउँदा
महत्त्व यामको बोल्यो नदी गर्जेर छङ्छङ
सम्झैँ आषाढको पन्ध्र दही र चिउरासँग ।

गर्दैश्रृङ्गार धर्तीमा बुट्टा भर्दछ बादलू
छोरी रोपार भै जान्छिन् लगाईकन गाजलू
हलो चलाउँने दाइ, भाइ गर्दैछ बाउसे
घुम ओडेर आमाबा खेतको आलिमा बसे ।

प्यारो आषाढको पुष्प फुल्छ अब गरागरा
मीठो माया छरी दिन्छ बोट पात जराजरा
किसानीका कलाबाट हिम शैल चढौँ अब
चोखो आषाढ रोपेर नौलो यात्रा बढौँ अब ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

 

तपाइँको प्रतिक्रिया ।