संविधानको विधेयक सहमतिका साथ अघि बढाउन छलफल

काठमाडौँ, ४ भदौ । संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले गठन गरेको शीर्ष नेता सम्मिलित विशेष समितिको आज बसेको बैठकमा संविधानको विधेयकलाई सहमतिका साथ अघि बढाउन छलफल भएको छ ।
प्रादेशिक सीमाङ्कन लगायतका विषयमा जारी छलफल टुङ्ग्याएर संविधानको विधेयकलाई सहमतिका साथ अघि बढाउन बिहानैदेखि सिंहदरबारमा समितिको बैठक बसिरहेको छ ।
संविधानको परिमार्जित मस्यौदासहितको विधेयक तयारीका क्रममा मस्यौदा समितिलाई संविधानसभाले यही भदौ १ गते थपेको चार दिनको समय आज सकिँदै छ ।
सिंहदरबारमा जारी बैठकमा नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधानको विधेयक सहमतिका साथ अघि बढाउन छलफल भइरहेको जानकारी गराउनुभयो ।
उहाँका अनुसार मस्यौदा समितिबाट संविधानको विधेयक सहमतिका साथ संविधानसभामा लगिने छ ।
संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले आजै मस्यौदा समितिले संविधानको विधेयक संविधानसभामा पेश गर्ने जानकारी दिनुभयो ।
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रदेशको सीमाङ्कनको विवाद अन्त्य गर्न विशेष समितिमा छलफल भए पनि त्यसको टुङ्गो लागिनसकेको बताउनुभयो ।
उहाँका अनुसार मस्यौदा समितिले आफ्नो काम सकेका कारण विधेयक अघि बढाउने सम्बन्धमा पनि छलफल भएको थियो ।

तपाइँको प्रतिक्रिया ।