संविधान निर्माण भदौभन्दा पर जाँदैन ः मन्त्री रिजाल

काठमाडौँ, ४ भदौ । सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले संविधान निर्माणको काम भदौ मसान्तभन्दा पर नजाने दाबी गर्नु भएको छ ।

लायन्स क्लब ३२५ ए वानले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री रिजालले मस्यौदा समितिले आजभोलिमा नै मस्यौदा सभामुखसमक्ष बुझाउने र त्यसमा सैद्धान्तिक छलफलपछि विधेयक संशोधनका लागि संविधानसभामा छलफल गर्ने काम अगाडि बढ्ने भएकाले भदौ मसान्तसम्म जान सक्ने छ भन्नु भयो ।

उहाँले सके सर्वसम्मतबाट अन्यथा दुई तिहाइबाट भए पनि देशलाई निकास दिन आवश्यक रहेको भन्दै आन्दोलनभन्दा पनि छलफल र वार्ताबाट निकास खोज्न विपक्षी दललाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – “संविधानमा आफूलाई चित्त नबुझेका कुरा काट्दै जाने हो भने खाली कागज मात्र हुन्छ ।”

कार्यक्रममा लायन्स क्लब ३२५ ए वानका डिट्रिक गभर्नर लायन सुनिलभक्त श्रेष्ठले क्लब सेवाको भावनाका साथ अगाडि बढेको बताउनुभयो । उहाँले सन् १९१७ मा अमेरिकामा स्थापना भएको क्लब अहिले विश्वका २१० मुलुकमा फैलिएको र १४ लाख सदस्य यसमा आबद्ध भएको जानकारी दिनुभयो ।

क्लबले देशमा हुने गरेको रगत अभावलाई मध्यनजर राख्दै त्रिभुवन विश्वविद्यालयले उपलब्ध गरेको तीन रोपनी जग्गामा रु एक करोड २५ लाखको लागतमा रक्तसञ्चार केन्द्र स्थापना गर्न लागेको छ ।

भूकम्पले गरेको क्षतिलाई मध्यनजर राखी क्लबले राहत सामग्रीमा रु एक करोड खर्च गरिसकेको र पुनःनिर्माणमा रु ४० करोडभन्दा बढी रकम खर्च गरिने जनाएको छ । पुनःनिर्माणमा खर्च गरिने रकमबाट एक हजार घर र तीन सय विद्यालय निर्माण गरिने लायन्सले जनाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।