स्वामी प्रपन्नचार्यको निधन

काठमाडौँ, ४ भदौ । स्वामी प्रपन्नचार्यको ९२ वर्षको उमेरमा आज बिहान ३ः३० बजे मृगस्थली आश्रममा निधन भयो ।

उहाँ लामो समयदेखि पिसाब र श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । तत्कालीन राजपरिषद् स्थायी समितिका सदस्य उहाँले नेपाली भाषा, साहित्य, संस्कृतिसम्बन्धी धेरै अनुसन्धानमूलक कृति प्रकाशन गर्नुभएको छ ।

‘वेदमा के छ ?’ नामक उहाँको कृति चर्चित छ । किरात जातिको इतिहासलगायत संस्कृतिसम्बन्धी धेरै कृति पनि प्रकाशित छन् । हालै नेपाल संस्कृत विश्वविद्यालयले उहाँलाई मानार्थ महाविद्यावारिधिको उपाधि प्रदान गरेको थियो । साथै सरकारले उहाँको योगदानको कदर गर्दै उहाँलाई आजीवन मासिक रु ३० हजार प्रदान गर्ने निर्णय गरेको थियो । उहाँको जन्म विसं १९८० मा पाँचथरमा भएको थियो । ३० वर्षको उमेरमा उहाँले लेखपद गर्न प्रारम्भ गर्नुभएको थियो ।

तपाइँको प्रतिक्रिया ।