ट्राफिक प्रहरीको लापसे (लागु पदार्थ सेवन) चेकिङ : ९ जना चालकहरू नियन्त्रणमा

ट्राफिक प्रहरीको लापसे (लागु पदार्थ सेवन) चेकिङ : ९ जना चालकहरू नियन्त्रणमा

कपन अनलाइन
काठमाडौं, जेठ २६।

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ९ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ ।

ना ८ ख ३०५ नम्बरका मिनिबस चालक बाराका ३९ वर्षीय दिनेश शाह तेली, ग १ ख ७१ ४५ नम्बरका बस चालक तनहुँका ३६ वर्षीय सन्तोष घर्ती, प्रदेश ३-०१-००५ ख ९९ २१ नम्बरका बस चालक नुवाकोटका २७ वर्षीय अर्जुन तामाङ र बागमती प्रदेश ०६-००१ ज ०१ ७४ नम्बरका माइक्रो चालक नवलपरासी बर्दघाट सुस्ता पूर्वका ३६ वर्षीय बिर बहादुर महतोलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस्तै, लु ३ च ३५४ नम्बरका पिक अप चालक रुपन्देहीका २८ वर्षीय मोहम्मद उमर, प्रदेश २-०३-००१ ख ६५ ९२ नम्बरका ट्रक चालक सर्लाही घर भएका २७ वर्षीय जलेन्द्र परियार, ना ८ ख ७२ १४ नम्बरका ट्रक चालक पर्साका २६ वर्षीय राकेश रावत, प्रदेश २ ०३-००१ ख ०० ७० नम्बरका ट्रक चालक कास्कीका ३८ वर्षीय आशिष शर्मा र ना ६ ख ४० ०२ नम्बरका कन्टेनर चालक धादिङका ३८ वर्षीय लिला बहादुर गन्धर्वलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाव,Drugs kit मा राखेर चेक गर्दा लागुपदार्थ सेवन गरेको प्रमाणित भएको थियो ।

प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रुपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी साधनका चालकहरूले नशालु पदार्थ सेवन गरे/नगरेको चेक गर्दै आएको छ । नागढुङगामा आज २५ ओटा सवारी साधनलाई चेक गर्दा ९ ओटा सवारी साधनका चालकले भने लागुपदार्थ सेवन गरेको पाइएको हो ।

नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट बुझाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताएका छन ।

चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा नियम विपरीत तथा दण्डनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्‍ठ उपरीक्षक जीवन कुमार श्रेष्‍ठले बताए  ।

यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने  भएकाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा  खबर गर्नुहुन अनुरोध गरिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।